काठमाडौं, १४ चैत्र । पाेखरा महानगरपालिकाले आयाेजना गरेकाे न्यायिक समितिकाे राष्ट्रिय सम्मेलनलाई पोखराका कांग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला ‘स्वार्थपुर्ण’ तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।
उक्त कार्यक्रमको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् ।
उनी आज नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा पुगेकी हुन् ।
पोखरा महानगर वडा नम्बर ९ का कांग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाए ।
कांग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहेका उनले भने, ‘न्यायिक समितिमा समेत कांग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’
न्यायिक सम्मेलन एमालेको चुनावी ‘फण्डा’मात्र भएको आरोप लगाउँदै उनले अगाडि भने, ‘यो कार्यक्रम पहिल्यै हुनुपर्थ्यो । अहिले आएर गरिनु चुनावी फण्डामात्र हो ।’
पोखरा महानगरमा कांग्रेसका ११ वडाध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन् ।
सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ ।