Logo

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तीन चरणमा हुँने



काठमाडौं, चैत १५ । नेपाल र चीनबीचको मित्रताको ‘प्रतीकुका रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौं अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन तीन चरणमा हुने भएको छ।

चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणमा प्रस्तावित सो रेलमार्ग परियोजनाको तीन चरणमा अध्ययन गर्न नेपाल र चीनबीच प्राविधिक कार्ययोजनामा सहमति भएको छ । विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपालले चीनसमक्ष सो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न प्रस्ताव गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख केशवकुमार शर्माका अनुसार, दुई मुलुकबीच भएको समझदारीअनुसार पहिलो चरणमा हवाई सर्वेक्षण, दोस्रोमा भौगोलिक अनुसन्धान र तेस्रोमा रेल पङ्क्ति योजना तथा लागत अनुमानसम्बन्धी सम्भाव्यता अध्ययन गरिनेछ ।

यसअघि यो रेल्वे परियोजनामा कसले कति लगानी गर्ने भन्ने टुङ्गो नलागे पनि अहिले भएको दुई मुलुकबीचको सहमतिअनुसार यस परियोजनामा सम्पूर्ण खर्च चीन सरकारले नै गर्ने उनले बताए ।

विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु गरिने सहमतिपत्रमा उल्लेख गरिएको छ । सम्भाव्यता अध्ययन प्रतिवेदनले सो रेल्वे परियोजनाको कुल लागत, निर्माण ‘मोडल लगायतबारे टुङ्गो लाग्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्