Logo

“केन्द्रीय समितिमा बोलेको विश्वास गरौं कि बाहिर आएका हल्लामा ?”



काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले पार्टी केन्द्रीय कार्यसमितिका अधिकांश नेताहरु गठबन्धनका पक्षमा स्पष्ट उभिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सहमहामन्त्री मन्सुरले भने, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र सबैलाई आआफ्नो अभिव्यक्ति राख्ने अधिकार छ । तर पार्टीले निर्णय गरेपछि त्यो सबैले मान्नुपर्छ । लोकतन्त्रको रक्षा र पार्टीको वर्चस्वका लागि आगामी निर्वाचनमा गठबन्धन गर्न अधिकांश नेताहरु सहमत छन् । केन्द्रीय सदस्य ७७ जिल्लामा खटिएका प्रतिनिधिको आधारमा पार्टीले निर्णय लिन्छ ।”
पार्टीका महामन्त्री गगन थापा र डा. शेखर कोइरालाले गठबन्धनको विपक्षमा मत नराखेको पनि उनले दाबी गरे । उनले भने, “अहिले कांग्रेसमा दुई धार छैन । दुवै नेताले केन्द्रीय कार्यसमितिमा बोलेको विश्वास गरौं कि बाहिर आएका हल्लामा ? दुवै नेताले पार्टीको बृहत्तरको हितका लागि बोल्नुभएको छ । नेपाली कांग्रेस एक ढिक्का भएर सर्वसम्मत रुपमा अघि बढ्छ ।”
नेपाली कांग्रेसका नेताहरुले भेला वा बैठक राख्नुलाई समानान्तर गतिविधि भन्न नमिल्ने पनि उनको जिकिर छ । उनले थपे, “पार्टीको केन्द्रीय समितिबाहिर रहेका पार्टी नेताहरुले बैठक वा भेला राख्न मिल्छ । तर त्यसलाई समानान्तर नाम दिन मिल्दैन । बैठक राख्नै नहुने भन्ने छैन ।”
सहामन्त्री मन्सुरले पार्टीको केन्द्रीय संसदीय बोर्डमा पार्टी सभापतिले समावेशिताका आधारमा ११ जना चयन गर्ने विश्वास पनि व्यक्त गरे । साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध अझ कसिलो र मजबुत हुने बताए ।



प्रतिक्रिया दिनुहोस्