Logo

ग्लोबल आइएमई बैंक र पेमेन्ट नेपालबीच सम्झौता, भारतीय भुक्तानी प्रणालीमा कारोबार गर्न सकिने



काठमाडौं, १५ चैत्र । ग्लोबल आइएमई बैंकले पेमेन्ट नेपाल (गेटवे पेमेन्ट सर्भिस प्रा.ली) संग सम्झौता गरेको छ। बैकले नेपाल भारत भित्रका ग्राहकहरुलाई क्यूआर सुविधा सुचारु गर्नको लागि पेमेन्टसँग सम्झौता गरेको हो । उक्त सम्झौता पछि बैंकको मोबाईल बैंकिङ एप ग्लोबल स्मार्ट प्लस प्रयोग गरी भारतमा आफ्ना ग्राहकहरुलाई सामान खरिद गर्दा क्यूआर मार्फत भारत पे, पेटिएम, गुगल पे लगायतका विभिन्न भारतीय भुक्तानी प्रणालीमा कारोवार गर्न सकिनेछ ।

उक्त सुविधा प्रदान गर्नको लागि सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र पेमेन्ट नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले हस्ताक्षर गरेका छन्।

सेवा संचालनमा आएपश्चात, यस सुविधाबाट नेपाल र भारतबीचको क्रस बोर्डर (सीमा वारपार) भुक्तानी सम्भव हुने बैंकले विश्वास लिएको छ । अब भारतीय बैंक तथा वित्तीय संस्था र अन्य भुक्तानी प्रदायकको भुक्तानी सेवा जस्तै भारत पे, पेटिएम, गुगल पे आदिबाट नेपाली र भारतीय व्यापारीबीच क्यूआर पेमेन्ट मार्फत भुक्तानी गरी व्यापारिक कारोबार गर्न सकिनेछ । साथै, बैंकका ग्राहकहरूले पनि भारतीय व्यापारीहरुलाई यसै सुविधाको प्रयोग गरी भुक्तानी गर्न सक्नेछन ।

बैंकले मुलुकभर २८९ शाखा, २५४ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस्