Logo

भारत र रुसबीच भारु-रुबलमा व्यापारिक कारोबारको प्रणाली बन्दै



काठमाडौं, १५ चैत्र । रुसले डलर र युरोमा नभई रुबलमा कारोबार गर्न भनेपछि विश्वको अर्थतन्त्र तरंगित भएको छ । अमेरिका र यूरोपेली यूनीयनले रुसविरुद्ध प्रतिबन्ध लगाई डलर रोकिदिएपछि रुसको मुद्रा रुबल कमजोर बनेको थियो । बदलामा रुसले पनि यूरोपका देशहरुलाई रुबलमा आफूलाई तिर्नुपर्ने रकम तिर्न भन्यो ।

आफूसँग ग्याँस र पेट्रोलियम पद्धार्थ खरिद गर्ने यूरोपका देशहरुलाई रुबलमा तिर्न भनेपनि उनीहरु मानेका छैनन् । योसँगै रुसले नयाँ कदम चाल्न सक्छ ।

अहिले रुससँग चीन र भारत जस्ता मुलुकले ठूलो आर्थिक कारोबार गरिरहेका छन् । भारत र चीनले सस्तो मूल्यमा रुससँग कच्चा तेल खरिद गरिरहेका छन् । चीनले रुससँग आफ्नो मुद्रा युआन चलाउन थालेको छ ।

भारत र रुसबीच पनि भारु र रुबलमा कारोबार गर्ने प्रणाली सुरु हुँदैछ । यसै हप्ता यस्तो प्रणाली सुरु हुन लागेको बताइएको छ । यो प्रणाली विकास भएमा भारत र रुसबीचको व्यापारमा अमेरिकी डलरको ठाउँमा रुबल र भारुले स्थान लिनेछ । रुस डलरको प्रयोगमा प्रतिबन्धित भएपछि विकल्पहरुमा जान थालेको हो ।

रुसी मिडियाले भारु-रुबलबाट कारोबार गर्ने प्रणाली विकासका लागि भारत सरकारका अधिकारीहरु काम गरिरहेको जनाएका छन् । त्यसका लागि भारतका पाँचवटा अन्तर्राष्ट्रिकरण भइसकेका बैंकहरुलाई सहभागी गराइनेछ ।

भारतले रुसबाट ठूलो मात्रामा हतियार खरिद गर्दै आएको छ । रुसले पनि भारतबाट कृषि उत्पादन देखि औषधीहरु पनि निर्यात गर्दै आएको छ । यी दुई देशबीचको अरबौं डलरको व्यापारका लागि रकम पठाउँदा समस्याहरु आउन थालेको छ ।

सन् २०२१ मा भारतले रुसमा ३ अर्ब ३० करोड डलरको औषधीजन्य सामाग्री, चीया, कफीलगायत निर्यात गरेको थियो । भारतले रुसबाट झण्डै ७ अर्ब डलरको आयात गरेको थियो । रुसबाट कच्चा तेल, सैन्य सामाग्री, मल, हीरा र बहुमूल्य धातुहरुको आयात गर्दा डलरमा रकम तिर्दै आएको थियो । कारोबारको नयाँ प्रणाली बनेमा रुसलाई र भारतबीच रुबल र रुपैयाँमा कारोबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्