काठमाडौं, १५ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाको १८ देखि २० चैत्रमा हुने भारत भ्रमण चासोमा परेको छ । प्रधानमन्त्री बनेपछि उनी पहिलोपटक औपचारिक देश विशेषको निम्तोमा भारत जान लागेका हुन् । यसअघि उनले गरेको बेलायत भ्रमण मौसम परिवर्तनसम्बन्धी सम्मेलनसँग सम्बन्धित थियो ।
देउवा भारत भ्रमणका दौरान बनारस जाँदैछन् । बनारस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र हो । उनी त्यहाँबाट दुईपटक लोकसभामा निर्वाचित भइसकेका छन् । त्योभन्दा पनि बनारस हिन्दुहरुको पवित्र तीर्थस्थल हो ।
बनारसमा देउवाले विश्वनाथ मन्दिरको दर्शन गर्ने देखि गंगा नदीमा हुने विशेष कार्यक्रममा सहभागी जनाउने बुझिएको छ । बनारससँग नेपालको महत्वपूर्ण साइनो छ । विगतमा बनारसमा अध्ययन गरेकाहरु नै नेपालको शासनसत्तामा पुगेका थिए । वीपी कोइराला, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, सूर्यबहादुर थापालगायत दिवंगत पूर्व प्रधानमन्त्रीहरु बनारसमै अध्ययन गरेका थिए ।
पछिल्लो समय काठमाडौं र बनारसबीचको दूरी बढेको र सिधा दिल्लीसँग सम्बन्ध नजिकिएको विषय पनि उठ्ने गरेको छ । बनारस हिन्दूहरुको पवित्र तीर्थस्थल हुनु र काशी हिन्दू विश्वविद्यालयको नामले पनि हिन्दूत्वको भावना बढी रहेको बुझ्न सकिन्छ । देउवाको भारत भ्रमणमा बनारसको यात्रा समेत रहनु आफैमा महत्वपूर्ण सन्देश हो ।
देउवालाई सन् २०१६ मा भारत भ्रमणमा जाँदा जवाहरलाल नेहरु विश्वविद्यालयमा निम्तो गरी मानार्थ विद्यावारिधीको उपाधि दिइएको थियो । यसपटक उनी काशी हिन्दू विश्वविद्यालयमा निम्तो गरिएका छन् ।
नेपालमा चुनाव नजिकिदै गर्दा देउवाको भारत भ्रमण हुन लागेको हो । यही बेला हिन्दू जागरण अभियान भन्दै हिन्दूवादीहरु सक्रिय छन् । अर्कोतर्फ, धर्मबारे मौन रहेका देउवा बनारस पुग्दैछन् । यो घटनालाई निकै चसाोका साथ हेरिएको छ ।-File Photo