Logo

त्रिवि सेवा आयोगका प्रा.डा. ढकालसहित ६ जनाविरुद्ध मुद्दा दायर



काठमाडौं, १५ चैत्र । त्रिभुवन विश्वविद्यालय (त्रि.वि) सेवा आयोगको कार्यालयका प्रा.डा. टेकनाथ ढकाललगायत ६ जना विरुद्ध अख्तियारले मुद्धा दायर गरेको छ ।
विभिन्न पदका लागि त्रिविले खुलाएको विज्ञापनको लिखित परीक्षामा व्यापक अनियमितता र आर्थिक चलखेल भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

सेवा आयोगको कार्यालय, त्रि.वि.बाट लिइएको विज्ञापन नं. १८।०७३।०७४ अन्तर्गतका पदहरुको स्थायी पदपूर्तिको लागि लेखा सहायक पद र पुस्तकालय सहायक पदको लिखित परीक्षामा परीक्षकहरुले गलत मनसायका साथ केरमेट गरी जम्मा प्राप्ताङ्कमा हेरफेर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा त्रि.वि.बाट पुष्टि भएको थियो ।

ढकालसहित सह–प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सह–प्रशासक इन्दिरा घिमिरे, उत्तरपुस्तिका सम्परीक्षण गर्ने प्रा.डा. टेकनाथ ढकाल, उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालय, त्रि.वि. का तत्कालीन प्रमुख परशुराम कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेले परीक्षाको परिणाममा फेरबदल गरेको पुष्टि गर्दै अख्तियारले तीन महिनादेखि १ बर्षसम्म कैद र ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot