एजेन्सी, १६ चैत्र । पाकिस्तानका प्रधानमन्त्री इमरान खानमाथि पद त्यागको दबाब झन् बढेको छ । अविश्वासको प्रस्ताव दर्ता भएपछि खानले पद बचाउन गरेको प्रयास कमजोर बन्दै गएको छ । उनलाई आफ्नै दलका सांसदहरुको विद्रोहको सामना गर्नुपरेको छ । अर्कोतर्फ, सत्ता गठबन्धनको घटक दलले पनि साथ छाडेको छ ।
खानलाई प्रधानमन्त्री बनाउन सहयोग गरेको मुताहिदा कवामी मुभमेन्ट पाकिस्तान पार्टीले समर्थन फिर्ता लिएको छ । सिन्ध प्रान्तमा पकड रहेको उक्त दलले पाकिस्तान तेहरिक इ इन्साफ दल नेतृत्वको गठबन्धन छाडेको घोषणा गरेको हो ।
६९ वर्षीय खान पाकिस्तानी टोलीका पूर्व कप्तान हुन् । उनी सन् २०१८ मा प्रधानमन्त्री बनेका थिए । पाकिस्तानको ७५ वर्ष लामो इतिहासमा कुनैपनि प्रधानमन्त्रीले संसदको एक कार्यकाल पूरा अवधि सत्तामा टिकेको रेकर्ड छैन ।
अविश्वासको प्रस्तावको यसै हप्ता सामना गर्ने भनिएकोमा खानसँग आवश्यक १७२ नपुग्ने देखिएको छ । गठबन्धनको मुख्य दलले साथ छाडेको र आफ्नै पार्टीभित्र पनि विद्रोह भएकाले खान सत्ताबाट हट्ने अवस्थामा पुगेका छन् ।