वीरगन्ज, चैत १७। मुलुकको प्रमुख आर्थिक नगरी वीरगन्जको मुख्य सडकमा एकहूल मानिस हलो बोकेर निस्किए । मंगलबार हलो बोकेर उनीहरू निस्कनुको कारण खेती किसानी गरी अनाज उब्जाउनु भने थिएन ।
कृषिप्रधान देशका कर्मवीर किसान कहलाउन पनि उनीहरू बजारबीचको सडकमा हलो बोकेर निस्किएका थिएनन् । सेतो कपडामा पेन्ट गरी बनाएको हलो अंकित झन्डा बोकेर सडकमा निस्किका उनीहरू अरू कोही थिएनन् राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता थिए ।
आगामी ३० वैशाखमा हुने निर्वाचन कार्यतालिका अनुसार पर्सामा राजनीतिको ‘राप’ चैत–वैशाखको चढ्दो घामभन्दा धेरै रापिलो भइसकेको छ । त्यसैले अन्य समयमा खासै बाहिर नदेखिने राप्रपाका स्थानीय नेता कार्यकर्ता समेत सडक र गाउँ टोलमा देखिन थालेका छन् ।
गत निर्वाचनमा पर्सामा एमालेले खासै आफ्नो प्रभाव देखाउन सकेको थिएन । मधेशमा आन्दोलनरत दलले मधेसविरोधी भन्दै गरेको प्रचारले एमालेको ‘सूर्य’ले खासै उज्यालो छर्न सकेको थिएन । तर, एमाले अहिले त्यसबेला सूर्यमा लागेको ग्रहण हटाउन मरिमेटेर लागेको छ । राजधानी दैनिकबाट