Logo

हरेक नेपालीले उठेपछि सुन्ने आवाज र सुत्ने बेला हेर्ने अनुहार ऋषि धमला होः रामहरि खतिवडा



काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले रिपोर्टर्स क्लब नेपालको विशेषता नै निष्पक्षता रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, “नेपाली राजनीतिमा सबैभन्दा निष्कलंक र इमानदार राजनेता, पहिलो सभामुख र नेपाल पत्रकार संघका संस्थापक सभापति अनि सोभियत संघका नेता ख्रुस्चेबको अन्तरवार्ता लिने पहिलो नेपाली किसुनजीले उद्घाटन गर्नुभएको संस्था आज २४ औं वार्षिकोत्सव मनाइरहेको छ । यसलेसंसद् नहुँदा संसद्को भूमिका निर्वाह गर्यो । लोकतन्त्र प्राप्तिका लागि लड्यो । मुलुकमा द्वन्द्व समाधानको पहल गर्यो ।”
ऋषि धमलालाई नेपालीले उठ्ने बेला आवाज सुन्न र सुत्ने बेला अनुहार हेर्न चाहेको पनि खतिवडाले बताए । उनले थपे, “तपाईंको शक्ति भनेको नै निष्पक्षता हो । कुनै पार्टीप्रति पूर्वाग्रह राख्नुहुन्न । स्वयंमा एउटा संस्था बन्न पुग्नुभयो । तपाई बेलुकी प्राइम टाइम्स टीभी र बिहान रेडियो एनआरएनमा व्यस्त हुनुहुन्छ । क्लबमा बहस गराउनुहुन्छ । साँच्चै भन्ने हो भने नेपालीले उठ्ने बेला आवाज सुन्ने र सुत्ने बेला हेर्ने अनुहार ऋषि धमला नै हो ।”
खतिवडाले संविधानका कारण पनि गठबन्धन बाध्यता भएको औंल्याए । उनले भने, “हाम्रो संविधानमा समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्था छ । त्यसकारण कसैको बहुमत आउने अवस्था भएन । अघिल्लो पटक नेकपा कांग्रेसलाई हराउन मात्र बन्यो । दुई तिहाइ टिकाउन सकेनन् । कांग्रेस राणा, राजा, माओवादी कसैसँग डराएन, एमालेको कुरासँग किन डराउँछौं ? संविधान, संसद् र पद्धति खाने पार्टीले क्विन्टलको सपना देखेर हुन्छ ?”
भरतपुर महानगर माओवादीलाई चाहिन्छ भन्नु अर्घेलो हुने पनि उनले बताए । उनले भने, “कसैले चाहिन्छ भनेर हुन्छ ? स्थानीय आवश्यकता र औचित्यका आधारमा तालमेल हुने हो । मलाई त्यही केटी चाहिन्छ भन्ने चाहिन्छ भनेर हुँदैन, अहिलेलाई बिहे गर्न पाए पुग्यो ।”



प्रतिक्रिया दिनुहोस्