काठमाडौं, १७ चैत । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले रिपोर्टर्स क्लब आवाजविहीनको आवाज बनेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता शर्माले भने, “शान्तिप्रक्रियामा आएपछि १५ वर्षसम्म रिपोर्टर्स क्लबसँग मेरो निरन्तर सम्बन्ध छ । ऋषि धमला एउटा गतिशील, क्रियाशील र निष्पक्ष पत्रकार हो । तपाईंको खह्रो आवाजको म प्रशंसा गर्छु । रिपोर्टर्स क्लब नेपाल परिवर्तनको पक्षमा निरन्तर लडिरहने निष्पक्ष संस्थाका रुपमा रहेको छ । खह्रो बोल्दाखेरि यो सत्ताको तारो बन्दै आयो, अप्ठ्यारो भोग्दै आयो । कहीं पनि नडगमगाईकन अघि बढेको छ । हामी सशस्त्र द्वन्द्वमा रहँदा पनि रिपोर्टर्स क्लबको प्रभाव परेको थियो ।”
आगामी चुनावमा पार्टीको स्थिति र सापेक्षतामा आधारित भएर गठबन्धन हुने पनि उनले बताए । उनले भने, “अहिले गठबन्धनको आवश्यकता छ । सबै दलहरु एकआपसका सहयोगी बनेर सबैको भावना समेटेर गठबन्धन अघि बढ्छ । त्यसका लागि हामीसँग परिपक्व र सक्षम नेतृत्व छ ।”