काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलले उठाउनुपर्ने मुद्दा र विषय नेपाली मिडियाले उठाएपछि मात्रै त्यसलाई दलले बोक्ने गरेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २४औं वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । सम्बोधनको क्रममा उनले भने,‘ अहिले हामी अत्यन्तै लम्बिएको संक्रमणकालबाट गुज्रिरहेको छौं । लोकतन्त्र र अर्थतन्त्रले राम्रोसँग खुट्टा टेक्न सकेको छैन् । मिडियाले ठूलो भूमिका खेलेको छ । राजनीतिक नेतृत्वले गर्नुपर्ने काम मूलतः नेपालमा मिडियाले उठाउने गरेको पाउँछु । भ्रष्टाचार, आम जनताको विषयलाई मिडियाले उठाउँछ र हामीले पछ्याउने गरेका छौं ।’
उनले क्लबको स्थापना कालमा आफूहरु भूमिगत जीवनमा रहेको स्मरण गराए । उनले भने,‘क्लबको स्थापनाकालमा हामी भूमिगत थियौं, तर ०५९ सालमा शान्ति वार्ता थियो । ऋषि धमलाले नाटकीय ढंगले कार्यक्रम सञ्चालन गर्नुभएको थियो, त्यसलेशान्ति वार्तालाई उचाईमा पुर्याउन भूमिका खेलेको थियो । क्लबको सफलताको कामना गर्न चाहन्छु ।’
उनले राष्ट्रियताको प्रश्न अहम नै रहने सुनाए । उनले भने,‘पछिल्लो समय भूराजनीति बदलिँदो छ। भरत, चीन र अमेरिकाको सम्बन्धले हाम्रो आन्तरिक सम्बन्धलाई नै असर पार्ने देखिन्छ । नेपालमा राष्ट्रिय सहमति बनाउनैपर्छ । महाशक्तिहरुको बीचमा रहेको देशले राष्ट्रिय सहमति कायम गर्नुपर्छ । मिडिया जगतले प्रधानता दिओस । युक्रेनको घट्ना हामीलाई ठूलो पाठ हुनसक्छ। विश्व महाक्तिहरुको चासो बढ्दो छ । नेपालले सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्छ । यही शताब्दीमा विश्वकै एक अग्रणी केन्द्र बन्नसक्छ।”
आफूहरुले लोकतन्त्रलाई अझै ठीक ढंगले पूर्णता दिन नसकेको स्विकारे । उनले भने,‘दुई तिहाई बहुमतले किन पूरा कार्यकाल पार गर्न सकेन ? लोकतन्त्रका बाँकी प्रश्न हामीले हल गर्नैपर्छ । खिचडी प्रकारको संसदीय व्यवस्थालाई सच्याउनुपर्छ, अब प्रत्यक्ष शासन प्रणालीमा जानैपर्छ। आर्थिक मुद्दा ठूलो कुरा हो, अब श्रम निर्यात र सामान आयात गर्ने अर्थतन्त्र होईन ।’ तस्विर मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
https://www.facebook.com/RishiDhamalaOfficial/videos/343528907834402