Logo

ओलीको पालामा जनतातिर फर्केर सीमाबारे आकाश-पाताल जोडेर अतिशयोक्तिपूर्ण कुरा भए, भारतसँग चुँक्क बोलिएनः डा. प्रकाशशरण महत



काठमाडौं, १८ चैत । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा सीमाको मुद्दा उठाउने बताएका छन् ।
प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “कोभिडका कारण दुई देशबीच राजनीति तहमा नियमित भ्रमण हुन सकेको थिएन । कोभिड व्यवस्थापनपछि सहज भएपछि यो सद्भावना भ्रमण हुन लागेको छ । प्रधानमन्त्रीले सीमा व्यवस्थापन, अन्तर्देशीय ट्रान्समिसन लाइन, ईपीजीलगायत विषयमा कुराकानी हुन्छ ।”
भारतले सीमा विवाद समाधान गर्न नचाहेको चर्चा छ नि भन्ने प्रश्नमा डा. महतले भने, “तपाईं भारतले सीमा विवाद समाधान गर्न चाहेको छैन किन भन्नुहुन्छ ? भारत नेपालको सबभन्दा सहयोगी राष्ट्र हो । दुई देशबीच जति धेरै अन्तर्क्रिया हुन्छ, त्यति समस्या समाधान हुन्छ । जति अन्तर्क्रिया कम भयो, त्यसमा समस्या बढ्छ । मैले भारतीय विदेशमन्त्रीसँग कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्छ भन्दा पनि नकारात्मक कुरा आएको थिएन । द्विपक्षीय संयन्त्रको काम दु्रतगतिमा बढ्यो भने त्यसले नयाँ आयाम दिन्छ ।”
नेपाली कांग्रेस एमालेजस्तो भारतसँग कुरा नगरी जनतातिर मात्र फर्केर गाली गर्ने पार्टी नभएको जिकिर गरे । उनले भने, “केपी ओलीजीको पालामा जनतातिर फर्केर ठूला कुरा भए, भारतसँग औपचारिक कुराकानी भएनन् । सीमाको कुरामा अतिशयोक्तिपूर्ण आकाश पाताल जोडेर कुरा गरियो । तर जहाँ भन्नुपर्ने हो, त्यहाँ चुँक्क बोलिएन । तर नेपाली कांग्रेस जहाँ भन्नुपर्ने हो, त्यहाँ भनेर छाड्छ । यसको मतलब आजको भोलि नै सीमा विवाद समाधान हुन्छ भन्ने होइन । हामी सौहार्दपूर्वक निष्कर्ष निकाल्छौं ।”
चिनियाँ विदेशमन्त्रीसँग पनि सरकारले सीमा विवादमा औपचारिक कुरा भएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “चीनका विदेशमन्त्रीसँगको कुराकानीमा पनि सीमा विवादबारे विषय प्रवेश भएको छ । पहिले एउटा जाँचबुझ समिति बनेको थियो । सीमामा केही पनि विवाद नभएको भए केही पनि छैन भनेर सार्वजनिक भइहाल्थ्यो । हुम्लाका जनप्रतिनिधिले केही समस्या छ भनेर आधारसहित प्रस्तुत भएपछि दुई देशबीच छानबिन गरी निकास निकाल्नुपर्ने हुन्छ ।”

 

 



प्रतिक्रिया दिनुहोस्