Logo

‘मिलेर जान’ प्रचण्ड र माधव नेपाललाई ओलीको प्रस्ताव



काठमाडौं, १८ चैत्र । नेपाली राजनीतिमा फेरि अर्को ‘यु टर्न’को संकेतहरु देखापर्न थालेको छ । सत्ता गठबन्धन चुनावमा मिलेर जाने चर्चा चलिरहँदा कम्युनिस्टहरु चुनावमा तालमेलको तयारीमा भित्र भित्र लागेका छन् । मुख्य कम्युनिस्ट दलहरुको दोस्रो र तेस्रो तहका नेताहरुले सहमतिको प्रयास गरिरहँदा शिर्ष नेताहरुबीच नै कुराकानी हुन थालेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले १७ चैत्रमा सत्ता गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जाने वाध्यात्मक अवस्था आउनसक्ने बताएका थिए । आफ्ना दलका नेताहरु एमाले नेताहरुसँग भित्र भित्र वार्ता गरिरहेको उल्लेख गर्दै आफू दबाबमा परिसकेको खुलाएका थिए । यसलाई प्रचण्डको बार्गेनिङको रुपमा हेरिएको थियो । तर, प्रचण्डले खुलासा गरेको भोलिपल्टै नयाँ खुलासा भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं प्रचण्डसँग संवाद गर्न थालेका छन् । दुई नेताहरुबीच टेलिफोन र विश्वासपात्रहरुमार्फत् छलफल अगाडि बढेको हो । यी छलफलहरु चुनावी तालमेलमा केन्द्रित रहेको बुझिएको छ ।

प्रचण्डसँग मात्र नभई ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि टेलिफोन संवाद गरेको खुलेको छ । ओलीले माधव नेपाललाई मिलेर जान प्रस्ताव गरेको बुझिएको छ । ओलीले आफू लचिलो हुने सम्मको प्रस्ताव गरेको खुलेको छ ।

चुनावमा काँग्रेससँग माओवादी र नेकपा एसले तालमेल गर्न लागेपछि ओलीले नयाँ अस्त्र फालेका हुन् । स्थानीय निकायको चुनाव नजिकिदै गर्दा ओलीले लचिलो भएर प्रचण्ड र माधव नेपालसँग सहमति निकाल्न खोजेका हुन् । यसले राजनीतिमा नयाँ तरंग ल्याउने देखिएको छ ।

यसअघि कम्युनिस्टहरु मिलाउन ठूलो शक्ति लागेको खुलासाहरु भएका थिए । विशेषगरी चीन ओली र प्रचण्डलाई मिलाउन लागेको विषयहरु बाहिर आएका थिए । चिनियाँ विदेशमन्त्री वाङ ईले नेपाल भ्रमण गर्दा ओली र प्रचण्डलाई होटल मेरियटमा पालैपालो भेटेका थिए । एउटै होटलमा दुई नेतालाई आलोपालो भेटेपछि निकै चासो भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot