Logo

यी फुटबलका शक्तिराष्ट्र कतार विश्वकपमा हुनेछैनन्



एजेन्सी, १८ चैत्र । कतारमा यसै वर्षको हिउँदमा हुने विश्वकप फुटबलमा २९ टोलीको टुंगो लागिसकेको छ । बाँकी ३ टोलीको पनि प्ले अफ म्याचबाट चाँडै टुंगो लाग्नेछ ।

विश्वकपको तयारीमा टोलीहरु लागिसकेका छन् । यसपटक पाँच पटकको विश्वकप विजेता ब्राजिल, चार पटकको विजेता जर्मनी, दुई पटकको विजेता अर्जेन्टिना, फ्रान्स, उरुग्वे लगायत सबैजसो विश्वकप विजेता देशहरु कतारमा उपाधिका लागि भिड्नेछन् ।

विश्वकप जितिसकेका बेलायत, स्पेनलगायतका देश पनि कतारको यात्रा सुनिश्चित गर्न सफल भएका छन् । तर, चार पटक विश्वकप जितिसकेको यूरोपेली च्याम्पियन इटाली भने छनोटमा असफल भएको छ ।

इटाली समूह चरणमा दुर्भाग्यले सिधै छनोट हुन सकेन । उसका लागि प्ले अफ अवसर बन्यो । तर, आफूभन्दा वरियतामा निकै तल रहेको नर्थ मेसोडोनियासँग पराजित भई बाहिरियो । जसका कारण पोर्चुगललाई फाइदा भयो । पोर्चुगल विश्वकप छनोटका लागि मेसोडोनियालाई हराएर कतारको यात्रा निश्चित गर्न सफल भयो ।

रुस पनि विश्वकप खेल्नबाट रोकिएको छ । प्ले अफमा छनोट भएको रुसले युक्रेनमाथि हमला गरेबाट फिफाले खेल्नबाट वञ्चित गर्यो ।

नर्वे पनि छनोट हुन सकेन । मोहम्मद सलाह जस्ता भरपर्दा स्ट्राइकर रहेको इजिप्ट पनि अन्तिम छनोट चरणबाट बाहिरियो । विश्वकप खेलिसकेको अफ्रिकी फुटबल शक्ति आइभोरी कोष्ट छनोटको अन्तिम चरणमा समेत पुग्न सकेन । नाइजेरिया र अल्जेरिया जस्ता अफ्रिकाका फुटबल शक्ति पनि छनोट हुन सकेनन् ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको चीन पनि छनोट हुन सकेन । चीनले अहिलेसम्म एकपटक मात्र विश्वकप खेलेको छ । एशियाबाट विगतमा विश्वकप खेलिसकेका कुवेत, उत्तर कोरिया, इराक जस्ता देशहरु पनि कतारमा देखिने छैनन् ।

दक्षिण अमेरिकाको पाराग्वे, चिली, बोलिभिया, भेनेजुएला पनि विश्वकप छनोटबाट बाहिरिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot