Logo

नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्धमा ‘आइसब्रेक’ भएको छः विजय चौथाइवाले



काठमाडौं, १९ चैत । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाजपा मुख्यालय भ्रमणले दुई पार्टीबीचको सम्बन्धमा आइसब्रेक भएको बताएका छन् ।
प्राइम टाइम्स एचडीबाट हिजो राति प्रसारित ‘जनता जान्न चाहन्छन्का’ र्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भाजपाका प्रभावशाली नेता चौथाइवालेले भने, “भाजपा अध्यक्ष जगतप्रकाश नड्डाले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो मुख्यालय भ्रमण गर्न पत्रमार्फत निमन्त्रणा गर्नुभएको थियो । भारत भ्रमणका क्रममा देउवा, पत्नी आरजुजी, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री, कृषि मन्त्री, स्वास्थ्य मन्त्रीसहित भाजपा मुख्यालय आउनुभयो । यसअघि नड्डा र देउवाबीच भेटघाट भएको थिएन । दुवै देशका नेताहरुबीच बडो सौहार्द वातावरणमा कुराकानी भयो । यसबाट भाजपा र नेपाली कांग्रेसबीचको सम्बन्धमा आइसब्रेक भएको छ ।”
दुई नेताहरुबीच के के कुराकानी भयो भन्ने पत्रकार धमलाको प्रश्नमा चौथाइवालेले भने, “अध्यक्ष नड्डाले आफ्नो पार्टीको पृष्ठभूमि बताउँदै कोरोनाका समयमा पार्टीले हजारौं मानिसलाई रासनपानी र दबाई बाँडेको जस्ता गैरराजनीतिक कामको चर्चा गर्नुभयो । साथै नेपाल र भारतबीचको सभ्यता, संस्कृति र धार्मिक सम्बन्धको कुरा गर्नुभयो । प्रधानमन्त्री देउवाले संयुक्त सरकारको अनुभव सुनाउँदै भाजपा अध्यक्ष नड्डालाई धन्यवाद दिनुभयो ।”
वार्ताका क्रममा दुई पार्टीबीच आपसी भ्रमण आदानप्रदान गर्ने कुराकानी भएको पनि उनले औंल्याए । चौथाइवालेले भने, “भाजपा र नेपाली कांग्रेसबीच नेतृत्व तहमा मात्र नभएर नियमित रुपमा युवा र महिला डेलिगेसन आदानप्रदान गर्ने कुरा भएको छ । यसको सुरुआत केही महिनाअघि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा आएको टोलीले गरिसकेको छ । पार्टी—पार्टीबीचको सम्बन्धले दुई देशबीचको सम्बन्ध मजवुत हुनुका साथै राजनीतिक संवादको थालनी हुने र नयाँ र सकारात्मक आयाम विकसित हुने अपेक्षा गरेका छौं ।”
नेता चौथाइवालेले नेपालको आन्तरिक मामलामा भाजपाले केही नबोल्ने पनि जनाए । अब भाजपा अध्यक्ष नड्डाले नेपालको भ्रमण गर्नुहुन्छ त भन्ने प्रश्नमा उनले भने, “नड्डाको भ्रमण हुन्छ कि हुँदैन, त्यो मेरो हातमा छैन । तर उचित समयमा भ्रमण हुन पनि सक्छ ।”
भाजपाको सम्बन्ध नेपाली कांग्रेससँग मात्र हुन्छ, कि अरु पार्टीसँग पनि बढ्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “अरु पार्टीसँग पनि भाजपाको सम्बन्ध अघि बढ्छ । केही महिनाअघि नेपाल जाँदा मैले अरु पार्टीका नेताहरुसँग पनि कुरा गरेको थिएँ । हामी सबैसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं ।”



प्रतिक्रिया दिनुहोस्