Logo

जनताको चाहना निर्वाचन भन्दा पनि प्रर्णाली परिवर्तन हो : विश्लेषक रायमाझी



काठमाडौं, १९ चैत्र । स्वतन्त्र लेखक तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले जनताको चाहना निर्वाचन भन्दा पनि प्रर्णाली परिवर्तन भएको बताएका छन् ।

रायमाझीले एक विज्ञप्ती जारी गर्दै परिवर्तनको सपना देख्न चाहने नेपाली जनताका लागि यो प्रणालीबाट देशले निकास नपाउने स्पष्ट पारेका हुन् । निर्वाचनलाई मात्र उपयोग गरेर प्रणाली परिवर्तन गर्न त्यति सम्भव नभएको पनि उनको भनाई छ ।

‘नेपालको बदलिँदो राजनीतिक परिस्थितिमा दलहरु प्रतिको विश्वास गुम्दै गएको देखिएको छ। प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शलाई राजनीतिक दलहरुले आत्मसात गर्न सकेको देखिएन। दलीय, स्वार्थ र दलभित्रका पनि गुट उपगुट हरुले शासन गर्ने राजनैतिक प्रणालीबाट नेपाली जनता वाक्कदिक्क भएको देखिन्छ ।’–विश्लेषक रायमाझीले लेखेका छन्, ‘वैकल्पिक शक्तिको रुपमा परम्परागत शक्तिलाई पुनःस्थापित गर्ने नेपालको झुक्दै गएको अन्तर्राष्ट्रिय सम्बन्धलाई शुद्धिकरण गर्न र राष्ट्रियतालाई पुन प्रवर्द्धन गर्न राष्ट्रिय राजनीतिको नयाँ कडीको रुपमा प्राचीन शक्तिलाई नै धरोहरको रुपमा नेपालीले खोजिरहेको छ।’

यस्तो अवस्थाको निर्वाचन मात्रै परिणाममुखि नहुने उनले तर्क गरे । परिवर्तित सन्दर्भमा व्यवस्थापकीय प्रणाली नै परिवर्तन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको भन्दै रायमाझीले यस्तो अवस्थामा निर्वाचन एउटा उपयोगिताको माध्यम हुनसक्ने जिकिर गरे ।

तर विकल्पहीन यो राजनीतिक घटनाक्रममा राजेन्द्र लिङ्देन प्रतीकात्मक पात्र भएको उनको भनाई थियो । वैकल्पिक शक्तिको रुपमा राष्ट्रियतालाई संरक्षण गर्न राजसंस्था बिना असम्भव भएको अहिले सर्वत्र महसुस भइरहेको पनि उनले जानकारी दिए । यद्यपि प्रष्टरुपमा संस्थाप्रतिको साझा धारणा बनाउन र प्रभावकारी भुमिका खेल्न लिङदेनको नेतृत्वले नसकेको उनले आरोप लगाए । निर्वाचनको लागि निर्वाचन हुने दलीय राजनीतिको भागबण्डामा मात्र अल्झिएर अहिलेको विकल्प हुन नसक्ने उनले स्पष्ट पारे ।

लेखक रायमाझीले स्थानीय निकाय र निर्वाचनको सेरोफेरोमा परम्परागत शक्ति र प्रजातन्त्र एक–अर्काका पर्यावाची हुन् भने जनमत तयार गर्नुपर्ने उनले धारणा राखे । उनले भने,‘यसमा गम्भीर रुपले बहस छलफल तर्फ उन्मुख हुनु जरुरी छ। निर्वाचनलाई मात्र उपयोग गरेर प्रणाली परिवर्तन गर्न त्यति सम्भव देखिँदैन। जनताको चाहना निर्वाचन भन्दा पनि पर्णाली परिवर्तनतर्फ खड्किएको छ।’



प्रतिक्रिया दिनुहोस्