Logo

नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारणसभा चैत्र २५ गते हुने, डा. रुइत र अनुराधा कोइरालालई सम्मान गरिने



काठमाडौं, १९ चैत । नेपाल मोवाईल व्यवसायी महासंघले प्रथम वार्षिक साधारण सभा भव्यताका साथ आयोजना गर्ने भएको छ । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले साधारण सभाबारे जानकारी दिएको हो ।

महासंघको साधारण सभा चैत २५ गते (शुक्रबार) विहान ९ः०० बजे होटल एलफ्टमा सुरु हुनेछ । कार्यक्रममा सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगै काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य, एमाले प्रमुख सचेतक विशाल भट्टराई, व्यवसायी दिपक मल्होत्रा, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिती रहने महासंघले जनाएको छ ।

यस्तै, कार्यक्रममा समाजमा उत्कृष्ट योगदान दिएका व्यक्तित्वहरु डा. सन्तुक रुइत र अनुराधा कोइरालालाई सम्मान गरिनेसमेत जनाईएको छ । कार्यक्रममा सहभागी हुन नेपाल मोवाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सम्पूर्णमा आह्वान गरेका छन् । उनले ४० जिल्लामा विस्तार भएको संस्था २ वर्षको अबधिमै ७७ जिल्लामा आफ्नो संरचना विस्तार गर्ने पनि जानकारी दिए ।

साथै, उनले नेपालमा छरिएर रहेका मोबाईल व्यवसायीलाई एउटै छातामुनि समेट्दै व्यवसायीले भोगेका समस्याका सम्बन्धमा सरोकारवालासमक्ष वकालत गर्ने र राज्य तथा नागरिकप्रतिको दायित्वबारे व्यवसायीलाई प्रतिबद्ध बनाउन महासंघको महत्वपूर्ण अभिभारा रहेको बताए ।

उनले राज्यको निरन्तरको बेवास्ता, केही मोबाईल आयातकर्ता तथा कम्पनीको अस्पष्ट दृष्टिकोणले आजित भएका व्यवसायीले महासंघ आएसँगै केही राहतको महशुस गरेको दाबीसमेत गरे । साथै, उनले अरबौं राजश्व बुझाउने आफूहरु कोरोनाका कारण महिनौं ठप्प रहेको मोबाईल व्यवसायले राज्यबाट कुनै सुविधा नपाएको गुनासो गर्दै विभिन्न बहानामा सरकारले व्यवसायीलाई दुःख दिने गरेको पनि आरोप लगाए ।

 

 

 



प्रतिक्रिया दिनुहोस्