Logo

व्यवसायी गैरजिम्मेवार बन्दा तेल भर्न घण्टौं लाइन



काठमाडौं, चैत २० । पेट्रोलियम व्यवसायीको गैरजिम्मेवारीपनका कारण उपभोक्ताले दुःख पाएका छन्। विभिन्न ६ बुँदे माग राखेर व्यवसायी आन्दोलित भएपछि बजारमा डिजेल, पेट्रोल अभाव भएको हो।

पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक सेवामा पनि अवरोध सिर्जना गरेको भन्दै व्यवसायीको आलोचना भएको छ। व्यवसायीले शुक्रबारबाट इन्धनको ढुवानी रोकेपछि त्यसको असर बजारमा परेको हो। पेट्रोल, डिजेल भर्न शुक्रबार र शनिबार उपभोक्ता घण्टौं लाइनमा बसे।

इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नियमित इन्धन आपूर्ति भए पनि व्यवसायीले ढुवानी नगर्दा आन्तरिक बजारमा पेट्रोलियम पदार्थको अभाव भएको हो। उच्च मूल्यवृद्धिका कारण मारमा पर्दै आएका उपभोक्ता मागका आधारमा सवारीसाधनमा तेल भर्न नपाउँदा आक्रोशित भएका छन्।

शनिबार कतिपय पम्प बन्द थिए। खोलिएका पम्पमा पनि उपभोक्ताको लामो लाइन थियो। महँगो तेल किन्न पनि घण्टौं लाइन बस्नुपरेकोमा गजुरेल आक्रोशित देखिन्थे। उपत्यकामा मात्र नभएर मुलुकभरका प्रायः सबै डिपोबाट इन्धन नउठाइएपछि राजधानीमा मात्र नभएर मुलुकभरका पम्पमा पेट्रोलियम पदार्थको अभाव भएको हो।

कतिपय उपभोक्ताले त लाइन बसेर पनि तेल नपाएको गुनासो गरे। पम्पहरूले निगमबाट ल्याएको तेल सकिएपछि लाइनमा बसेका उपभोक्तालाई रित्तै फर्काएका थिए।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, साझा सहकारीले सञ्चालन गरेका पेट्रोल पम्पले डिपोबाट तेल लोड गरेपछि निजी क्षेत्रले सञ्चालन गरेका पम्पले तेल उठाएनन्। शनिबार चारवटा पम्पले मात्र तेल लगेकाले अन्य सबै ति पम्पहरुमा अत्याधिक भिड देखिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्