Logo

भ्युटावर बनाउन बजेट खर्च गर्न हुँदैन्ः शेखर कोइराला (फोटोफिचर)



तनहुँ, २० चैत्र । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गाउँमा खानेपानी समस्या रहिरहको भन्दै पहाडमा भ्युटावर बनाउन बजेट खर्च गर्न नहुने टिप्पणी गरेका छन् ।

आज तनहुँको बन्दिपुरस्थित सिमलटारमा खानेपानी आयोजना उद्घाटन गर्दै कोइरालाले पार्टीको चुनावी घोषणा पत्र/प्रतिज्ञा पत्रमा भ्युटावर बनाउँदैनौं भनेर लेख्नुपर्ने बताएका हुन्।

पहाडमा भ्युटावर र तराईमा गेट बनाउने प्रवृत्ति रहेकोले त्यसतर्फ बजेट खर्च गर्न नहुने कोइरालाले तर्क गरे । ‘गाउँमा खानेपानी सुविधा छैन। बजेट भने भ्युटावर र गेट बनाउनमा खर्च भइरहेका छन् । ‘हामी भ्युटावर बनाउँदैनौं भनेर चुनावी घोषणा पत्र/प्रतिज्ञा पत्रमा उल्लेख गर्नुहोस्।’– कोइरालाले भने ।

उनले भ्युटावरको सट्टा अस्पताल र स्कुललगायत संरचना बनाउन पर्नेमा जोड दिए । उनले अहिले सिमलटारमा वडा र गाउँपालिका पनि कांग्रेसका जनप्रतिनिधि नरहेको भन्दै यसपालि भने चुनावका लागि तयार रहनुपर्ने बताए। तर कसरी चुनावी तालमेल गर्ने भन्नेबारे पार्टी नेताहरूले बैठक गरेर निर्णय लिने उनले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरु गोबिन्द भट्टराई, ध्रुव वाग्ले, मधु आचार्य, तनहुँ कांग्रेसका सभापति जितप्रकाश आले, नुवाकोट कांग्रेसका पुर्वसभापती जगदिश्वरनरसिंह केसी, तनहुुँ कांग्रेसका पुर्वसभापति रघु पौडेल, कांग्रेस नेताहरु देवराज चालिसे, सुदिपमोहन भट्टराई, उक्त खानेपानी उपभोक्ता आयोजना समितिका अध्यक्ष रोजन बानियाँ लगायतको उपस्थिति रहेको थियो ।

तस्बिरः दिनेशचन्द्र थपलिया



प्रतिक्रिया दिनुहोस्