Logo

भ्यु टावर होइन पानी ट्यांकी बनाऔँ –प्रदीप पौडेल



तनहुँ, २० चैत्र । सत्तारुढ दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले भ्यु टावर नभई पानी ट्यांकी बनाउनुपर्ने बताएका छन् । गृहजिल्ला तनहुँको शुक्लागण्डकी–९ तालवेशीमा निर्मित खानेपानी लाइन तथा ट्यांकी समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जनताको आवश्यकतालाई दलहरुले ध्यान दिनुपर्ने बताए ।

सपना देखाएर बेवारिसे बनाउने नेता र दलले लोकतन्त्रमा निर्वाचन जित्न नहुने उनको भनाई थियो । ‘घोषणपत्रमा लेख्ने तर काम नगर्ने दललाई भोट नदिनुहोला,’ नेकपा एमालेतर्फ ईंगित गर्दै नेता पौडेलले भने, ‘सपना देखाएर ती सपना बेवारिसे बनाउने नेता र प्रतिवद्धता व्यक्त गर्ने तर पूरा नगर्ने दलले लोकतन्त्रमा जित्नु हुँदैन।’

काम नगरी जित्ने परिस्थिति बने समृद्धि आर्जन गर्न नसकिने नेता पौडेलले बताए। उनले कांग्रेसले आशन्न निर्वाचनमा स्पष्ट योजना प्रस्तुत गर्ने पनि बताए। ‘नेपाली कांग्रेसले यो चुनावमा स्पष्ट योजना प्रस्तुत गर्नेछ। ती योजना हाम्रा प्रतिवद्धता हुन्,’ नेता पौडेलले भने, ‘हामी हाम्रा प्रतिवद्धता पूरा गर्नेछौँ। पूरा गर्न नसकिने प्रतिवद्धता हामी गर्ने छैनौँ।’

उनले घोषणापत्रमा लेखेका काम पूरा नगर्ने दललाई मत नदिन पनि मतदातालाई आग्रह गरे। संविधानले निर्दिष्ट गरेका थुप्रै आवश्यकता पूरा हुन बाँकी रहेको भन्दै उनले नैसर्गिक अधिकारका रुपमा व्याख्या गरिएका विषयहरु तर्फ केन्द्रित भएर दलहरुले कार्यक्रम बनाउन आवश्यक रहेको पनि बताए।

‘संविधानले निर्दिष्ट गरेका थुप्रै आवश्यकता पूरा भएका छैनन। पहिला ती विषयलाई पूरा गर्न लाग्नु पर्छ,’ पौडेलले भने, ‘खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता विषयलाई नैसर्गिक अधिकारका रुपमा व्याख्या गरेको छ, त्यसअनुरुप दलहरुले कार्यक्रम बनाउन आवश्यक छ।’

दलहरुले जनताको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गर्नुपर्नेमा जोड दिँदै उनले लाखौँ जनता अहिले पनि शुद्ध खानेपानीबाट वञ्चित रहेको स्मरण गरे। ‘जनताको आवश्यकता के हुन् त्यतातिर दलहरुले ध्यान दिनुपर्छ,’ नेता पौडेलले भने, ‘भ्यु टावर होइन पानी ट्यांकी बनाऔँ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot