जनकपुर, २१ चैत्र । पछिल्लो केही समयदेखि जनकपुरधाममा सुस्ताएको कला र साहित्यसम्बन्धी गतिविधि बिस्तारै बढ्न थालेको छ । आवश्यक संरक्षण र सम्वद्र्धनको अभाव तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणलगायत कारण सुस्ताएको मैथिली कला, संस्कृति र साहित्यसम्बन्धी गतिविधि साहित्यकार तथा संस्कृतिकर्मीको सक्रियतामा बिस्तारै लयमा फर्किन थालेको हो ।
“कोरोनाका कारण गतिविधि केही वर्षदेखि ठप्प जस्तै थियो”, साहित्यकार एवं पत्रकार श्यामसुन्दर शशिले भने, “बिस्तारै गति लिन थालेको छ ।” मिथिला कला, संस्कृति र साहित्यको संरक्षण सम्वद्र्धनका लागि राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ । मैथिली नाट्य कलापरिषद् र मैथिली विकास कोषले जनकपुरधाममा वर्षेनी विभिन्न कार्यक्रम गर्दै आएको थियो । “कोभिड–१९ को त्रास कम भएसँगै संस्थाको सक्रियता बढेको छ”, शशिले भने ।
मैथिली कला, साहित्य र संस्कृतिको उर्वरभूमि मानिएको जनकपुरधाममा कला, साहित्य र संस्कृतिसम्बन्धी कार्य नहुँदा निराश बनेका कलाकार, साहित्कार र सङ्गीतकार पछिल्लो सक्रिय गतिविधिका कारण उत्साहित बनेका छन् । पत्रकार एवं साहित्यकार हिमांशु चौधरी बिस्तारै गति लिएको कला, साहित्यको गतिविधिले उत्साह बढाएको बताउछन् ।
एक महिनाको अवधिमा जनकपुरधाममा दुई साहित्यिक महोत्सव सम्पन्न भएका छन् । यही चैत २३ गतेदेखि कला, साहित्य र नाट्य महोत्सव हुन लागेको छ । तीन दिनसम्म चल्ने सो महोत्सव जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने छ । महोत्सवको पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने कार्यक्रम तय भएको कोषका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए । Photo: Wikipedia