Logo

‘कम बोल्ने’ क्वात्राले जिते मोदीको मन



काठमाडौं, २१ चैत्र । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राको भारतको विदेश सचिवमा नियुक्ति हुनुमा कम बोल्ने काम गरेर देखाउने स्वभावले पनि काम गरेको बुझिएको छ । नेपालमा राजदूत रहँदा क्वात्राले सार्वजनिक कार्यक्रमहरुमा कमैमात्र सहभागिता जनाए । उनले सार्वजनिक रुपमा कमैमात्र अभिव्यक्ति दिए ।

विवादमा आउने गरी कुनै कार्य र भेटघाट नगर्नु उनको अर्को विशेषता पनि बनेको छ । उनको कार्यकालमा नेपाल भारत सम्बन्धमा रहेका समस्याहरु धेरै हल हुँदै गए । भारतले नेपालको राजनीतिमा सक्रिय भूमिकाहरु देखाएन । विश्वस्त स्रोतका अनुसार क्वात्राले राजनीतिमा कुनै प्रकारको सक्रियता नदेखाउने रणनीति र कूटनीति अबलम्बन गरेका थिए । त्यसैले उनी विवादमा आएनन् ।

झण्डै ३२ वर्ष भारतको विदेश सेवामा अनुभव सँगालेका क्वात्राले सन् २०१५ देखि २०१७ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा जिम्मेवारी पाए । त्यतिबेला उनले मोदीको मन जितेका थिए । मोदीले विश्वास गरेकाले फ्रान्सको राजदूत बनाए । उनले फ्रान्समा रहँदा भारतका लागि महत्वपूर्ण कार्यहरु गरेका थिए ।

भारतका नेपालसँग सम्बन्ध चिसिएको बखत क्वात्रालाई मोदीले राजदूतका रुपमा महत्वपूर्ण जिम्मेवारी दिएका थिए । उनी नेपाल आएर कूटनीतिक माध्यमले सम्बन्ध सुदृढ गराउन लागे ।

कोत्रा १९८८ को भारतीय विदेश सेवा आइएफएस ब्याचका अफिसर हुन् । उनी नरेन्द्र मोदी पहिलोपटक प्रधानमन्त्री भएको बेलामा विदेश मन्त्रालयमा प्रतिआतंकवादी डेक्स हेर्थे । उनलाई पछि प्रधानमन्त्री कार्यालयमा विशेष ड्युटीसहितको जिम्मेवारी दिइएको थियो ।

सहसचिव बनेर विदेश मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा लगिनुमा उनको विशेष क्षमता कारण थियो । मोदीले उनलाई निजी सचिव बनाउन खोजेका थिए । उनलाई प्रधानमन्त्री कार्यालयमा विशेष जिम्मेवारी दिएर अर्का युवा अधिकृतलाई निजी सचिव बनाएका थिए ।

क्वात्रा विज्ञानका विद्यार्थी थिए । एमएससी गरेपछि भारतको लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी आइएफएस बनेका थिए । जेनेभामा पोष्टिङ्ग हुँदा उतै अन्तर्राष्ट्रिय सम्बन्धको स्नातक तहको अध्ययन पूरा गरेका थिए ।

सन् १९८८ मा भारतीय विदेश सेवामा आइपिएस अफिसरका रुपमा सेवा शुरु गरेका उनीसँग भारतको स्थायी प्रतिनिधिका रुपमा संयुक्तराष्ट्रसंघको जेनेभास्थित कार्यालयमा काम गरेको अनुभव छ । आइएलओ र डब्लुएचओ जस्ता संयुक्तराष्ट्रसंघीय संस्थामा भारतको प्रतिनिधिका रुपमा जिम्मेवारी सम्हालेका थिए । जेनेभामा रहँदा नै अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन पनि गरेका थिए ।

क्वात्राले संयुक्तराष्ट्रसंघसम्बन्धित डेस्क र मिसनमा बढी काम गरे । सन् १९९३ देखि २००३ सम्को दश वर्ष राष्ट्रसंघसम्बन्धित भारत डेक्समा काम गरेका थिए । सन् २००३ देखि २००६ सम्म चीनका लागि भारतीय राजदूतावासमा समेत काउन्सलरका रुपमा काम गरे । उनी पछि डिसिएम समेत भएका थिए । उनी चीनबारे समेत जानकार छन् । भारतीय विदेशमन्त्री एस। जयशंकर राजदूत हुँदा समेत उनले काम गरेका थिए । उनी सन् २००६ देखि २०१० सम्म नेपाल बसेका थिए ।

काठमाडौंस्थित सार्क सचिवालयमा व्यापार ब्युरोको प्रमुख भएर काम गरे । नेपाललाई त्यतिबेला कवात्राले नजिकबाट बुझ्ने मौका पाएका थिए । सन् २०१० देखि २०१३ सम्म अमेरिकास्थित भारतीय राजदूतावासको वाणिज्य ब्युरो प्रमुखमा रुपमा काम गरे । उनले साउथ ब्लकमा अमेरिका र क्यानडा डेक्स पनि हेरे । क्वात्राले दुई वर्ष भारतको प्रधानमन्त्री कार्यालयमा सहसचिवका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

हरेक जिम्मेवारी कुशलतापूर्वक निभाउने खूबी भएकै कारण क्वात्रा मोदीले विदेश सचिवको जिम्मेवारी दिने निर्णय क्याबिनेटबाट गराए । अब उनी अप्रिलभित्रै भारत फर्किएर विदेश सचिवको जिम्मेवारी निभाउनेछन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्