काठमाडौं, २२ चैत । नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष वसन्त कुँवरले प्रहरी महानिरीक्षक (आईजीपी) हुने महत्वाकांक्षाले नेपाल प्रहरीको संगठन बरबाद भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कुँवरले भने, “नेपाल प्रहरीमा राजनीतिकरण सुरु भएको ३०, ३५ वर्ष भैसक्यो । अहिले राजनीति छिरेको होइन, स्वीकार गरिएको मात्र हो । रत्नशमशेर राणा सिनियर हुँदाहुँदै दरबारले हेमबहादुर सिंहलाई आईजीपी बनाइयो । रत्नशमशेरलाई ढालेर मोतीलाल बोहरा आउनुभयो । बोहरालाई ढालेर अच्युतकृष्ण खरेल आउनुभयो । एआईजीको दरबन्दी दुइटा बनाइयो । वास्तवमा भन्ने हो भने आईजीपी हुने महत्वाकांक्षाले नेपाल प्रहरीको संगठन बरबाद भयो ।”
राजनीतिक नेतृत्वले पुलिस लगाएर महाधिवेशनको पैसा उठाउँछु वा चुनाव जित्छु भन्ने सोचेर आईजीपी बनाउनु नहुने उनले औंल्याए । कुँवरले भने, “फौज पद्धतिमा चल्छ । फौजमा वरिष्ठताको कदर हुनुपर्छ । विदेशमा सेना, पुलिस चिफ को छ, थाहा हुन्न । हामीकहाँ पुलिस लगाएर महाधिवेशनको पैसा उठाउँछु, चुनाव जित्छु भन्दाखेरि संगठन बदनाम भयो । खास भन्ने हो भने चुनाव अगाडिका प्रमोसनले प्रहरी संगठन शोषणमा पर्छ ।”
उनले आईजीपीका आकांक्षीलाई नेताका घरमा नधाउन सुझाव दिए । कुँवरले भने, “प्रहरीका हाकिम नेतानेताको घरमा धाएनन् भने पनि ५ जना एआईजीमध्ये एउटा आईजीपी हुने हो । आईजीपी उही व्यक्ति हुन्छ, जसलाई सरकारले चाहन्छ, सरकारले आफूलाई जे फाइदा हुन्छ, उसलाई बढुवा गर्छ । ३०, ३५ हजार बन्दुकको जिम्मा लिने प्रहरी अधिकृत किन नेताको घरघरमा कुद्ने ? ४० वर्षअघि रिटायर भएका खड्गजित बराल र डीबी लामाको नाम किन लिन्छन्, अरुको नाम किन लिँदैनन् ? अहिले आईजीपी हुने पनि दुःखी हो, नहुने पनि दुःखी हो ।”
उनले प्रहरी संगठनको बदनामीमा प्रहरी महानिरीक्षक भएका र हुन चाहने दुवै दोषी भएको बताए । उनले थपे, “हाम्रा आईजीपीहरुले धेरै पाप गरेका छन् । मन नपरेकाको बढुवा रोक्न वर्षौं फाइल अघि बढाएनन् । वास्तवमा प्रहरी संगठन धानेको एसपीभन्दा तलकाले हो । सिपाही जहिल्यै ड्युटीमा छ ।”