Logo

रुस-युक्रेन युद्धमा भारत किन तटस्थ ?



एजेन्सी, २२ चैत्र । रुस-युक्रेन युद्धमा भारत तटस्थ बस्नुले रुसलाई सबैभन्दा फाइदा पुगेको छ । रुसले भारतको सन्तुलित विदेश नीतिको खुलेर प्रशंशा गरेको छ । तर, अमेरिका, बेलायतलगायत पश्चिमा देशहरु भारतको तटस्थ भूमिकाप्रति असन्तुष्ट छन् ।

भारतको तटस्थ भूमिकाको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समेत प्रशंशा गरे । उनले भारतले आफ्नो देश र नागरिकको हितलाई केन्द्रमा राखेर विदेश नीति लिने गरेको भन्दै सार्वजनिक रुपमा प्रशंशा गरेका थिए ।

विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भारत तटस्थ बस्दा रुसलाई राहत मिलेको छ । विश्वका अधिकांश देशहरु रुसको विपक्षमा उभिएका छन् । उसले आर्थिक प्रतिबन्धहरु पनि झेलिरहेको छ । तर, भारतले रुसमाथिको आर्थिक प्रतिबन्दको बखत भारी छूटमा कच्चा तेल किनेको छ ।

भारतको पछिल्लो कदमका कारण उसको विश्व परिवेशमा महत्व पनि बढेको छ । अमेरिकी सुरक्षा उप सल्लाहकार दलदीप सिंह, बेलायती विदेशमन्त्री लिज ट्रयुज, जर्मनीका चान्सलरका सल्लाहकार जेन्स प्लोटनरले गत हप्ता भारत भ्रमण गरे । उनीहरु रुसका विदेशमन्त्री सेरगेई लाभरोभको भ्रमण अगाडि भारत पुगेका थिए । यसअघि चिनियाँ विदेशमन्त्री वाङ ई पनि चीन पुगे ।

यी घटनाहरुले पनि भारतले तटस्थ भूमिकाबाट लाभ लिएको बुझ्न सकिन्छ । यसमा उसका लागि केही जोखिमहरु पनि छन् ।

रुससँग भारतको परम्परागत सम्बन्ध हो । भारत रुसको रणनीतिक साझेदार रहँदै आएको छ । भारतले रुसबाट वर्षेनी अरबौं डलरको सैन्य सामाग्री खरिद गर्दै आएको छ । अमेरिकासँग भन्दा रुससँग भारतले बढी हतियार खरिद गर्दछ । रुसले काश्मिरलाई भारतको भूभागको रुपमा मान्यता दिएको छ । तर, अमेरिका र बेलायतले अहिलेसम्म दिएका छैनन् । यसकारण पनि भारत अझै रुसप्रति कृतज्ञ देखिन्छ ।

सैन्य प्राविधिक सहयोग आदानप्रदान अन्तर्गत संयुक्त रिसर्च, प्रतिरक्षा प्रविधि प्रणालीको विकास पनि परेकोछ । ब्रह्मोज मिसाइल प्रणालका अलावा एस यु ३० लडाकु विमान र टी ९० ट्यांकको लाइसेन्सप्राप्त उत्पादन यसको उदाहरण हो । अन्तरीक्षमा पनि भारत र रुसबीच साझेदारीका परियोजनाहरु अगाडि बढाइएका छन् ।

आणविक ऊर्जामा रुस भारतको महतवपूर्ण साझेदार हो । दुई देशबीच यसबारे सम्झौता सन् २०१४ मा भएको थियो । भारतको कुन्दानकुलाम आणविक ऊर्जा प्लान्ट रुसको सहयोगमा भारतमा निर्माण भएको हो ।

यसैगरी, भारतको औषधी रुसमा निर्यात हुने गरेको छ । भारतको कफी र चीया रुसमा अत्याधिक खपत हुन्छ ।

विशेषगरी सैन्य सामाग्री निर्माण र प्राविधिक विकासमा दुई देशबीच साझेदारीहरु भएका छन् । जसका कारण भारत रुससँगको सम्बन्धलाई चिस्याउन चाहँदैन । त्यसमाथि रुसी विदेशमन्त्री लाभरोभले दिल्ली पुगेर भारतले जे खरिद गर्न चाहेपनि रुस विक्रीका लागि तयार रहेको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot