Logo

‘ऋणको जालो’मा फसेको श्रीलंकामा सत्तारुढ राजापाक्षे परिवार संकटमा



एजेन्सी, २२ चैत्र । श्रीलंकामा विदेशी ऋणको जालोले पारेको आर्थिक संकटले सत्ता डगमगाएको छ । त्यहाँको सत्तामा पकड बनाएको राजापाक्षे परिवार दशकपछि ठूलो संकटमा परेको छ ।

राष्ट्रपति गोटावाया राजापाक्षेको सत्तारुढ गठबन्धनले संसदमा बहुमत गुमाएको छ । ४१ सांसदले राजापाक्षेको दलबाट विद्रोह गरेका छन् ।

राष्ट्रपति राजापाक्षेको राजीनामा मागिएपनि उनले सत्ता नछाड्ने बताइसकेका छन् । उनले संसदमा बहुमत बनाउन चुनौती दिएका छन् ।

यसैगरी, अर्थमन्त्री नियुक्त भएको एक दिनमै अली साबरीले राजीनामा दिएका छन् । बसिल राजापाक्षेको राजीनामापछि साबरी नियुक्त भएका थिए । उनको राजीनामाले राजापाक्षे परिवारलाई अर्को धक्का दिएको छ ।

२२५ सदस्यीय संसदमा सत्तारुढ पोडुजाना पेरामुनासहित गठबन्धनको १५७ सिटसहित पूर्ण बहुमत थियो । सांसदहरुको विद्रोहका कारण दुई तिहाई बहुमतको सरकार सामान्य बहुमत समेत नपुग्ने अवस्थामा पुगेको छ ।

श्रीलंका पूर्वाधार विकासका लागि लिइएको चीनको चर्को ब्याजको ऋणमा परेको छ । ऋणमा सहुलियतको आग्रह गरिएपनि चीन मानेको छैन ।

उसले अन्य देशसँग पनि ऋण लिएको छ । विदेशी मुद्राको संचिती नहुँदा श्रीलंका इन्धन खरिद गर्न नसक्ने अवस्थामा छ । त्यहाँ दैनिक १३ घन्टाभन्दा बढी लोडसेडिङ हुन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्