Logo

पूर्व महान्यायाधिवक्ता रमेश बडाललाई ऋषि धमलाको प्रश्नः “सबै दललाई मान्य निर्वाचन आचार संहिता एमालेलाई किन अमान्य ?”



काठमाडौं, २३ चैत । नेकपा एमालेका कानुन विभाग प्रमुख एवं पूर्व महान्यायाधिवक्ता रमेश बडालले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का लगायत ६०, ६५ जनाले निर्वाचन आयोगको आचार संहितामा नपढीकन हस्ताक्षर गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बडालले भने, “हिजो निर्वाचन आयोगले आचार संहिताप्रति प्रतिबद्धता गर्न राजनीतिक दलहरुलाई बोलाएको थियो । उसले बनाएको आचार संहिताबारे आयोगले हामीसँग छलफल गरेको पनि थिएन । हामी संविधान पालनामा प्रतिबद्ध छौं । संविधानसँग बाझिने आचारसंहिताका चारपाँच बुँदामा हाम्रो गम्भीर असहमति भएकाले आचार संहिता पालनासम्बन्धी प्रतिबद्धतामा हस्ताक्षर गरेनौं । मलाई लाग्छ, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत ६५-६६ जनाले नपढीकन हस्ताक्षर गर्नुभयो । के त्यो आचार संहितामा नेपाली कांग्रेस अडिग हुन सक्छ, त्यसमा मेरो चुनौती छ ।”
आयोगले बनाएको आचारसंहिता उसले नै परिवर्तन गर्नुपर्ने उनले दाबी गरे । बडालले भने, “निर्वाचन खर्च कटौती गर्नुपर्छ भन्ने कुरामा हामी पनि सहमत छौं । तर झन्डा नबोकीकन कसरी चुनाव प्रचारमा जाने ? चुनाव लड्न जाऊ भन्ने अनि आफ्नो चिह्नको प्रचार गर्न नपाउने ? अनलाइन पेज चलाउन नपाउने ? आफ्नो बेवसाइटमा राख्न नपाउने ? संविधान र कानुनसँग बाझिएको कुरामा आवेश, उत्तेजना र जल्दबाजीमा हस्ताक्षर गर्ने कुरा आउँदैन । आयोगले बनाएको आचार संहिता हो, उसले परिवर्तन गर्न पनि सक्छ ।”
मतपत्रको रंग, आचार संहिता लगायतका कुराले निर्वाचन आयोगको निष्पक्षतामा शंका रहेको पनि उनले औंल्याए । बडालले भने, “मेरो पहिलो प्रश्न के हो भने निर्वाचन आयुक्त नै आचार संहिताप्रति प्रतिबद्ध हुनुपर्छ । तर मतपत्रको कलर डिजाइजनमा बायसनेस देखियो । त्यो अमुक दललाई फाइदा पुग्ने कुरा हो भन्दा उसले अडान लिइरहेको छ । तर गठबन्धनलाई फाइदा पुग्दैन भन्नासाथ सच्चाउने गरिरहेको छ । यसले निर्वाचनको निष्पक्षतामा असर गर्छ ।”



प्रतिक्रिया दिनुहोस्