Logo

चितवन कांग्रेसको निर्णय परिपक्व छ, स्थानीय तह र संसदीय निर्वाचन दुवैमा माओवादी केन्द्रलाई छाड्न सकिँदैनः एनपी सावद



काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एनपी सावदले चितवनमा स्थानीय तह र संसदीय निर्वाचन दुवैमा नेकपा (माओवादी केन्द्र) मा सहयोग गर्दा सबभन्दा ठूलो संगठन भएको आफ्नो पार्टीलाई अन्याय हुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सावदले भने, “चितवन देशकै आवागमनको ढोका भएको जिल्ला हो । त्यहाँ गत स्थानीय तह निर्वाचनमा ढिलो गरी तालमेल भएको थियो । हामीलाई पार्टीका साथीहरुलाई सम्झाउन नसक्दा गम्भीर विवाद भएको थियो । त्यहाँ संसदीय क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डजीलाई सघाउने अनि स्थानीय तहको उहाँकी छोरीलाई सघाउने हो भने सबभन्दा पहिलो संगठन भएको नेपाली कांग्रेसलाई न्याय गर्दैन भन्ने बहस उठेको छ । यसमा नेपाली कांग्रेस चितवनको निर्णय परिपक्व छ । तर एउटा स्थानीय तहको कुराले समग्र गठबन्धनलाई प्रभावित गर्न सक्दैन ।”
नेता सावदले २० प्रतिशत मात्र पकड भएको पार्टीले ८० प्रतिशत पकड भएको पार्टीको समर्थन लिन गाह्रो हुने पनि औंल्याए । उनले थपे, “नेपाली कांग्रेसले कन्दीय समितिको बैठकबाट तालमेल गरेर जाने निर्णय गरिसकेको छ । यसबारे विभिन्न चरणमा वार्ता पनि भइसकेको छ । हामीले २०७४ को स्थानीय र आम निर्वाचनमा समानुपातिक तर्फको मतलाई आधार बनाएर उम्मेदवारी फिक्स गर्न सक्छौं । नयाँ समीकरण, संगठनमा आएको परिवर्तन, मतभारका आधारमा तालमेल गर्न सक्छौं । तर माधवजीलाई एमालेले जितेको सबै सिट छाड्दा जित्ने आधार छ कि छैन ? त्यो पनि हेर्नुपर्छ । २० प्रतिशत मात्र पकड भएको पार्टीले ८० प्रतिशतको समर्थन लिन नसक्दा विपक्षीलाई हराउन कठिनाइ हुन्छ ।”
अहिलेको स्थितिमा एक्लाएक्लै लड्दा नेपाली कांग्रस जसरी पनि पहिलो पार्टीका रुपमा स्थापित हुने उनले दाबी गरे । सावदले भने, “कम्युनिस्ट पार्टीहरु फुटेका छन् । देशभरि दुई तिहाइ सिटको असफलताले जनतामा मोहभंग भएको छ । त्यसैले नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन भयो भने नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र, जसपालगायत पार्टीले पनि जित्ने अवस्था बन्न सक्छ ।”



प्रतिक्रिया दिनुहोस्