Logo

चुनावमा जथाभावी आश्वासन बाँड्दाखेरि नेपाल पनि श्रीलंकाको बाटोमा जान सक्छः पूर्व गभर्नर



काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले चुनावमा जथाभावी आश्वासन दिँदाखेरि मुलुक श्रीलंका बन्ने सक्ने अवस्था आउने खतरा औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. नेपालले भने, “अहिले श्रीलंका नै भैसक्यो भन्नु अतिशक्तियोक्ति हुन्छ । तर निकै सतर्क हुने स्थिति छ । श्रीलंकामा राजापाक्छे दाजुभाइले चुनावमा जनतालाई करका दर घटाइदिन्छु, राजस्व मिनाहा गरिदिन्छु, अर्गानिक खेती गर्ने भन्दा मुलुक टाट पल्टियो । खाद्य उत्पादन घटेर गयो । तलबभत्ताका लागि विदेशी ऋण लिनुपर्ने अवस्था आयो । अहिले अन्तर्राष्ट्रिय मुद्रा कोषको शरणमा पुगेको छ । हाम्रोमा पनि चुनाव आउँदै छ । सामाजिक सुरक्षा भत्ता नै १०० अर्ब पुगेको छ । त्यो भनेको जीडीपीको १२ प्रतिशत हो । त्यसैले जथाभावी आश्वासन दिएर क्षणिक वाहवाहीका लागि मुलुकलाई टाट नपल्टाउन नेताहरुलाई खबरदारी गर्नुपर्छ ।”
कोभिडपछिको नीतिगत गडबडीले नेपालको अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको उनको टिप्पणी छ । डा. नेपालले थपे, “हिजोको नीतिगत गडबडीले अहिले समस्या आएको हो । कोभिडपछि सहुलियतपूर्ण राहत दिने मौद्रिक नीतिको लचकताले बजारका धेरै पैसा भयो । ५० अर्बको पुनर्कर्जा २ सय अर्बभन्दा बढी अर्थात् पाँच गुना बाहिर गयो ।साउनसम्म १४, १५ महिनाको विदेश आयात धान्न सक्ने विदेशी मुद्राको सञ्चिति थियो । अहिले ६ महिना मात्र धान्न पुग्ने अवस्था छ । डलरको स्रोत रेमिटेन्स, पर्यटन, निर्यात र विदेशी लगानी हो । लगातार सात महिनादेखि रेमिटेन्स घट्दै गएको छ । युवाहरु क्रिप्टोकरेन्सी, हुन्डीमा लागिरहेका छन् । त्यसलाई मूलप्रवाहमा ल्याउनुपर्यो । अनावश्यक आयातलाई नियन्त्रण गर्नुपर्छ ।”
उनले सरकारलाई विगत ७ महिनामा राष्ट्र बैंकको खातामा थुप्रिएको ३०४ अर्ब बजारमा चलायमान गर्न सुझाव दिए । उनले भने, “अहिले २३, २४ प्रतिशत राजस्व उठिरहेको छ । ३०४ अर्ब राजस्व राष्ट्र बैंकको खातामा थन्किएको छ । आर्थिक कानुन संशोधन गरेर भए पनि त्यसलाई बजारमा पठाउनुपर्यो । विलासिताका बस्तुमा नियन्त्रण गर्नुपर्यो । दुई दिन सार्वजनिक बिदा दिनुपर्यो । सार्वजनिक यातायातमा जोर बिजोर प्रणाली लगाउनुपर्यो । इन्धनमा भुसुक्कै डलर खर्च हुन्छ । विदेशी लगानी सहज गर्नुपर्यो । अर्थतन्त्र तंग्रिँदै गएपछि फेरि त्यसलाई सुचारु गर्दा भइहाल्छ ।”

 



प्रतिक्रिया दिनुहोस्