Logo

एमालेबाट एसमा ओइरो लाग्नेमा माधव नेपाल ढुक्क



काठमाडौं, २३ चैत्र । पाँच दलीय गठबन्धनको चुनावी तालमेल सम्भव बने सबैभन्दा लाभ माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले लिने देखिएको छ । एमालेबाट फुटेर बनेको नेकपा एस प्रतिनिधिसभाका २३ सांसदमा सिमित छ । तर, स्थानीय निकायमा गठबन्धनले देशभर साझा उम्मेदवार दिने टुंगो लागेमा एसले ठूलै फाइदा लिन सक्ने देखिएको छ ।

चुनाव नजिकिदै गर्दा गठबन्धनसँग एक्लै चुनाव लड्न कठिन हुनेमा नेकपा एमालेका जनप्रतिनिधिहरुले माथिल्लो तहसम्म रिपोर्ट पठाइरहेका छन् । तर, अध्यक्ष केपी शर्मा ओली भाषणहरुमा कार्यकर्तालाई हौस्याउँदै एक्लै काफी रहेको भनिरहेका छन् ।

यसरी नै राजनीति अगाडि बढेमा गठबन्धन देशभर तालमेल गरी चुनाव लड्ने अवस्था निश्चित हुने देखिन्छ । त्यतिबेला एमालेमा लागेर चुनाव जित्न नसकिने निष्कर्षमा पुगेका जनप्रतिनिधिहरुले माधव नेपालको साथमा पुग्ने अवस्था बन्न सक्छ । परिस्थिति यस्तै बन्नेमा माधव नेपाल ढुक्क छन् ।

पाँच वर्ष कोही पनि कुर्ने पक्षमा देखिदैनन् । एमालेमा रहँदा टिकट नपाउने या टिकट पाएपनि चुनाव हार्न सक्ने तर माधव नेपालको पार्टीमा लागेमा टिकट पाएर चुनाव पनि जित्ने अवस्था देखेकाहरुले अहिले नै खुट्टा उचालिसकेका छन् । सम्भवत आउँदो हप्ताबाट एमालेबाट नेकपा एसमा बाढी नै आउने निष्कर्षमा माधव नेपालको टिमका नेताहरु पुगेका छन् ।

विगतमा चुनाव जितेका र राम्रो पकड कायमै रहेकाहरुलाई भित्राउन माधव नेपालले केही प्रभावशाली नेताहरुलाई खटाएका छन् । ३० वैशाखको अगावै हुने उम्मेदवारी दर्ता अगावै ठूलो संख्यामा पार्टी परिवर्तनका लहर नै चल्ने संकेतहरु देखिइसकेका छन् । अहिले नै विभिन्न पार्टी परित्याग गर्ने र टिकट निश्चित गर्नेहरुको लहर नै देखिएको छ । यो लहर अब आउँदो हप्ताबाट झन् बढी देखिनेछ ।

गठबन्धनले चुनावी तालमेल नगर्ने निर्णय गरेको हुन्थ्यो भने सबैभन्दा क्षति माधव नेपाललाई नै पुग्दथ्यो । विगतमा बामदेव गौतमले नेकपा माले खोल्दा प्रतिनिधिसभाको २०५ मध्ये सून्य सिटमा सिमित हुनु परेको थियो । माधव नेपालले त्यो स्थिति आउन नदिन रणनीतिक चार्तुयता देखाएका छन् । उनले सत्ता गठबन्धनबीच चुनावी तालमेल सुनिश्चित गरेका छन् । अब स्थानीय तहमा धमाधम भागवण्डा चल्न थालेको छ ।

भागवण्डा चल्दै गर्दा माधव नेपालले एमालेबाट आफ्नो पक्षमा आउनेहरुको सम्भावित नाम नै तयार गरेर छलफल अगाडि बढाउन लगाएको बुझिएको छ । उनी अब चाहिं ढुक्क भएर काँग्रेस र माओवादीसँग बढीभन्दा बढी भागमा बार्गेनिङ गर्न थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्