Logo

विप्लव नेतृत्वको नेकपा फुटको संघारमा



काठमाडौं, २४ चैत्र । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी फुटको संघारमा पुगेको छ । चुनावमा भाग लिने या नलिने विषयमा नेकपाभित्र विवाद चर्किएर फुटको अवस्था बनेको हो ।

नेकपा महासचिव नेत्रविक्रम चन्द चुनावमा जान नहुने पक्षमा छन् । उनी अझै सशस्त्र क्रान्तिमा जोड दिइरहेका छन् । केही दिनअघि सकिएको नेकपाको कपिलवस्तु बैठकमा चुनावबारे चर्काचर्की भएको थियो ।

नेकपाभित्र विप्लव विरोधी धार बनेको छ । जसमा हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला चुनावलाई उपयोग गर्नुपर्ने पक्षमा उभिएका थिए । बहुमत नेताहरु चुनावमा सहभागी हुने पक्षमा उभिएपनि विप्लवले पेलेर बढेका थिए । उनलाई प्रवक्ता प्रकाण्डले पनि साथ दिएका थिए ।

चुनावबारे नेकपाभित्र विवाद बढेपछि आज प्रकाण्ड निर्वाचन आयोग पुगे । उनले चुनावमा भाग लिन पाउने वातावरण बनाउन आग्रह समेत गरे । प्रकाण्डले आयोगका पदाधिकारीलाई भेटेर दल दर्ताका लागि समय फेरि निर्माण गरिदिन भनेका थिए ।

नेकपाभित्र चुनावलाई उपयोग गर्नुपर्ने विषय उठेपछि विप्लव र प्रकाण्ड दबाबमा परेका हुन् । उनीहरु सम्भावित विभाजन रोक्न चुनावमा भाग लिने रणनीतिक कुरा गर्न मात्र आयोग पुगेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्