काठमाडौं, २५ चैत्र । स्थानीय निकायको निर्वाचनमा प्रमुख दलहरु पनि एक्लै लड्न हच्किएका छन् । प्रमुख दलमध्येको कुनै एक दल अर्को सँग मिल्ने वित्तिकै चुनावी नतिजा नै फरक आउने अवस्था बनेको छ । कुनैपनि दलको एक्लै जित्ने सामथ्र्य छैन भन्ने यसले पनि देखाउँछ ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी समेत तालमेलमा जुटेका छन् । सत्ता गठबन्धनका काँग्रेस, एमाले, माओवादी, नेकपा एस, जसपा र राजमो तालमेलको निर्णयमा पुगिसकेका छन् ।
गठबन्धनसँग चुनावी प्रतिष्पर्धामा नेकपा एमाले मुख्य शक्ति हो । उसले पनि तालमेलको तयारी थालेको छ । एमालेले लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, विप्लव नेतृत्वको नेकपा र सीके राउतको दलसँग तालमेलको तयारी गरेको छ । यसकारण यसपटकको चुनाव दुई पार्टी प्रणाली जस्तै हुने घटना विकास हुँदैछ ।
पार्टीहरु धेरै भएपनि फरक फरक गठबन्धन बनाएर दुई शक्ति जसरी बढ्न लागेका छन् । देशभर जहाँ जस्को बढी शक्ति छ त्यसलाई आधार बनाएर तालमेल गर्ने तयारी गरेका छन् ।
काँग्रेससहितको गठबन्धनले महानगरपालिकामा भागवण्डा मिलाउन खोजेको छ । विश्वस्त स्रोतका अनुसार काँग्रेसले कम्तिमा ३, माओवादी र जसपाले ११ र बाँकी १ मा काँग्रेस या नेकपा एसले लिने गरी सहमति बन्न लागेको छ । उपमहानगरपालिका, नगरपालिका र पालिकाहरुमा पनि प्रमुख र उपप्रमुखमा शक्ति हेरेर मिलाउने, वडाध्यक्ष र सदस्यहरुमो पनि बाँडफाँड प्रतिशतको आधारमा गर्ने तयारी भएको छ ।
एमालेले पनि गठबन्धनका लागि छलफल बढाएको छ । उसले लोसपा र राप्रपासँग छलफल बढाएको हो । त्यसबाहेक साना दलहरुलाई पनि समेट्ने गरी एमालेको तयारी छ ।
काँग्रेससहितको गठबन्धन र एमालेसहितको गठबन्धनबीच यसपटक रोचक चुनावी भिडन्त हुने अवस्था विकास भएको छ । यसकारण काँग्रेससहितको गठबन्धनलाई सोचेजस्तो चुनाव सजिलो छैन ।