Logo

सार्वजनिक कार्यक्रममै गाली, लगत्तै निलम्बन



काठमाडौं, चैत २६। नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’ मा खुलमखुला गभर्नरलाई गाली गरेका अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमबाट फर्केलगत्तै गभर्नरलाई निलम्बन गरेका छन् ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको दाबी गरिए तापनि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रेस ब्रिफिङमा त्यस विषयमा उल्लेख छैन । मन्त्रिपरिषद्को बिहीबारको बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको स्रोतको भनाइ छ । शुक्रबार उनलाई निलम्बन गरिएको हो ।

उनीमाथि लागेको आरोप छानबिन गर्न नेपाल राष्ट्र बैंक ऐनकाअनुसार पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा डा सूर्य थापा र चन्द्रकान्त पौडेल सदस्य रहेको समिति गठन गरिएको बताइएको छ ।

छानबिनका लागि समिति गठन भएसँगै स्वतः निलम्बन हुने व्यवस्थाअनुसार अधिकार निलम्बनमा परेका हुन् । बिहीबार नै मन्त्रिपरिषद्को बैठकले छानबिन समिति गठन गरेको भए अर्थमन्त्रीले शुक्रबारको कार्यक्रममा गभर्नरलाई किन बस्न दिए भने प्रश्न उब्जिएको छ ।

अर्थविद् तथा पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थतन्त्रलाई मिलेर मजबुत गर्नुपर्ने समयमा निलम्बन गरेर राष्ट्रलाई समस्यामा पार्ने काम सरकारबाट भएको टिप्पणी गरे । उनले भने, ‘अर्थमन्त्रीलाई गभर्नर निलम्बन गर्ने अधिकार हुँदैन र मन्त्रिपरिषद्ले गरेको भए किन सार्वजनिक गरिएन?’

अर्का अर्थसचिव डिल्लीराज खनालले पनि निलम्बन गर्नु अवैधानिक रहेको र गभर्नर अधिकारीले कानुनीउपचार खोज्न सक्ने बताए । यद्यपि, अधिकारीले शुक्रबार नै आफूमाथि गरेको निर्णयसम्बन्धी पत्र बुझिसकेका छन् ।

अमेरिकाबाट आएको स्रोत नखुलेको ४० लाख डलर छुटाउन अर्थमन्त्री शर्माले राष्ट्र बैंकलाई पत्राचार गरेको समाचार राष्ट्र बैंकबाट सार्वजनिक गरेपछि गभर्नरलाई जसरी पनि हटाउने मनस्थितिमा अर्थमन्त्री पुगेको बताइएको छ ।

गभर्नर अधिकारीलाई निलम्बन गर्ने कार्य सार्वजनिक गर्नुअघि अर्थमन्त्री शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीबीचको विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल भएको थियो ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’ विषय कार्यक्रममा अर्थमन्त्रीले राष्ट्र बैंकका गभर्नर र सञ्चालक समितिलाई अनुशासनको पालना नगरेको भन्दै गाली गरेका थिए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्