काठमाडौं, २६ चैत । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष गोपालकृष्ण घिमिरेले आफूले सक्षम न्यायपालिका, भ्रष्टाचारहित न्यायपालिका, संविधानको कार्यान्वयन, मर्यादित बारको पक्षमा आवाज उठाउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष घिमिरेले भने, “बार भनेको लोकतन्त्र, विधिको शासन, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाको पहरेदार हो । न्यायालयभित्रका विकृति, विसंगति र बिचौलियालाई हटाउन हामी लाग्नैपर्छ । कहिले व्यक्ति खराब, कहिले प्रवृत्ति खराब हुँदा यसको स्वच्छतामा प्रश्न उठेका छन् । न्यायालय भनेको व्यापार गरेर पैसा कमाउँछु भन्ने ठाउँ होइन । बारको भूमिकामा हामी सजग छौं । मेरो नेतृत्वको टिमले न्यायपालिकाको छवि उजिल्याउने गरी काम गर्नेछ ।”
बारमा कुनै पनि राजनीतिक विचार ल्याएर लाद्नु गलत भएको घिमिरेले बताए । उनले भने, “बार कांग्रेस वा कम्युनिस्ट भन्ने ठाउँ होइन । यसमा प्रवेश गर्दा हामीले राजनीतिक पगरीलाई त्याग्नुपर्छ । हामी चुनाव लड्दामात्र पक्ष वा विपक्ष हौं । चुनाव सकिएपछि सबै न्यायकर्मी हौं । मलाई अध्यक्षका सबै उम्मेदवारले बधाई दिनुभएको छ । म बारको साझा उद्देश्य पूरा गर्न सबैलाई साथमा लिएर अघि बढ्छु । हामीले एउटा इँटा भने पनि थप्ने छौं ।”
न्यायिक नेतृत्वसँग मिलेर जनताले छिटो न्याय पाउने बाटोमा लाग्नुपर्ने उनले औंल्याए ।