काठमाडौं, २६ चैत्र । सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू गरिएको छ। आज अपरान्ह केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिएको थियो। रथयात्रा काठमाडौंको तीनधाराबाट तानेर असन, इन्द्रचोक, वसन्तपुरहुँदै लगनटोल पुर्याएर समापन गरिन्छ।
सेतो मच्छिन्द्रनाथलाई चैत शुक्ल अष्टमीको दिन जनबहालबाट नगरपरिक्रमा गराई दरबारमार्गस्थित तीनधारामा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गराउने प्रचलन छ।
किम्वदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा फेला परेको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाएका थिए। त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्याई जनबहालमा स्थापना गरिएको हो। सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको छ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम