Logo

“युवालाई झन्डा मात्र बोकाउने, उत्पादनको एजेन्डा नदिने ?”



काठमाडौं, २७ चैत । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा. दिनेशचन्द्र देवकोटाले नेपाल राष्ट्र बैंकका गभर्नरको निलम्बन दुराशयपूर्ण रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. देवकोटाले भने, “आर्थिक सूचकांक हेर्दा मुलुक दुर्घटनातिर जान लागेका बेला नेपाल राष्ट्र बैंकका गभर्नरको निलम्बन दुराशयपूर्ण हो कि भन्ने देखिन्छ । मलाई कता कता जरुरी नभएको घटनाजस्तो लागेको छ । शेरबहादुर देउवाजस्ता अनुभवी प्रधानमन्त्रीलाई त्यो कुरा किन ठीक लाग्यो ? म अचम्मित छु ।”
अर्थतन्त्र सुधारका लागि उत्पादनलाई बढाउने, निर्यात बढाउने र आयात घटाउने रणनीति लिनुपर्ने उनले औंल्याए । उनले भने, “तत्काल सुधारको बाटोमा जाने हो भने सरकारी खर्च घटाउनुपर्यो । इन्धन कोटा घटाउनुपर्यो । चालु खर्च घटाउनुपर्यो । प्रदेशमा मन्त्रालय घटाउनुपर्यो । हामी अहिले खाद्यान्न भारत, चीन र बंगलादेशबाट, प्याज जर्मनीबाट, मकै चिलीबाट, तेल सिंगापुर र मलेसियाबाट ल्याइरहेका छौं । वाईसीएल, युथफोर्स, तरुण दलका युवा भाइबहिनीलाई हामी जसरी चुनावमा खटाउँछौं, त्यसरी उत्पादनमा जोड्ने कार्यक्रम ल्याइँदैन भने हाम्रो मुलुकप्रतिको निष्ठामा ठूलो सन्देह हुन्छ । यसमा माननीय मन्त्री, श्रीमान् सचिवज्यूले कहिले सोच्ने ?”



प्रतिक्रिया दिनुहोस्