Logo

गठबन्धनभित्र तालमेल नमिल्दा महानगरमा बार्गेनिङ



काठमाडौं, चैत २७ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धन आबद्ध दलबीच भागबन्डा नमिल्दा तालमेलको मोडालिटी नै अन्योलमा परेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले २२ चैतमा चुनावी तयारी काम गर्न भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति बनाएका थिए ।

स्रोतका अनुसार कुन स्थानीय तह कसले लिने भन्नेमा कुरा नमिल्दा सो समितिले तालमेलको मोडालिटी बनाउन सकेको छैन । तालमेलका विषयमा सबैभन्दा बढी समस्या महानगरपालिकामा देखिएको छ । देशका ६ वटा महानगर काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र विरगन्ज महानगरपालिकामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाले बार्गेनिङ गरिरहेका छन् ।

कांग्रेस यसअघि २०७४ सालमा जितेका ललितपुर र विराटनगर नछाडी काठमाडौं समेत लिने दाउमा छ । माओवादीले भरतपुर र पोखरालाई ताकिरहेको छ भने नेकपा एसले पोखरा र ललितपुरमा दाबी गरिरहेको छ ।

जसपाको दाबी भने वीरगन्जसहित विराटनगरमा पनि छ । भरतपुरमाथि पनि कांग्रेस दबाबमा छ । यसअघि भरतपुर माओवादीले जितेको थियो भने काठमाडौं र पोखरा महानगर एमालेले, वीरगन्ज जसपाले जितेको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्