Logo

एक करोड जुटाउन नसकेर प्रत्यक्ष चुनाव लडिनँः युवराज ज्ञवाली



काठमाडौं, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले आफू एक करोड रुपैयाँ नभएर २०७४ सालको संघीय निर्वाचनमा प्रत्यक्षतर्फ लड्न नसकेको खुलासा गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने, “हिजो भरखर नेपाली कांग्रेसका नेता शशांक कोइरालाले निर्वाचन आयोगले उम्मेदवारको खर्च सिलिङ २५ लाख तोकेकामा ६ करोड खर्च भयो भन्नुभयो । २०७४ सालमा पार्टीको स्थायी समिति बैठकमा मैले प्रत्यक्ष चुनाव लड्न सक्दिनँ भनेको थिएँ । एक करोड जम्मा नगर्ने हो भने निर्वाचन क्षेत्र प्रवेश नै नगरे पनि हुने भयो । म चुनाव लडिनँ, खुरुखुरु पार्टीको काम खुरुखुरु गरेँ ।”
चुनावलाई खर्चिलो र भड्किलो हुन नदिन राष्ट्रिय सहमति नै हुनुपर्ने उनले औंल्याए । उनले भने, “यसबारे केही नेताले सोचेर मात्र हुँदैन । राजनीतिमा पैसा हावी हुने खतरानाक कुरा हो । कम्युनिस्ट पार्टीमा झन् खतरानाक कुरा हो । निर्वाचन आयोगको आचार संहिता कडाइका साथ पालना गराउनुपर्छ ।”
उपाध्यक्ष ज्ञवालीले पालिकाले सिफारिस अघि बढाइरहेकाले वैशाख पहिलो सातासम्म एमालेले उम्मेदवार चयन गरिसक्ने बताए । साथै उनले मुलुकको अर्थतन्त्र चौपट भएका बेला मिलेर जानुपर्नेमा गभर्नर हटाउन खोज्दा संकट गहिरिँदै जाने चिन्ता प्रकट गरे । यसमा सरकारले गम्भीर गल्ती गरेको उनको धारणा छ ।

 



प्रतिक्रिया दिनुहोस्