Logo

दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार बनाउने ठेकेदार फरार



काठमाडौं, २७ चैत्र । बागमती प्रदेश सरकारले बनाउँदै गरेको दासढुंगामा मदन–आश्रित स्मृति पूर्वाधार निर्माणका ठेकेदार फरार भएका छन् । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको उक्त आयोजका ठेकेदार फौदनाथ सापकोटा फरार भएका हुन् । बागमती प्रदेश सरकारले बनाउन खोजेको पर्यटन पूर्वाधारका ठेकेदार समेत काम अलपत्र छाडेर भागेपछि नयाँ ठेकेदारको खोजी सुरु भएको छ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले दासढुंगामा बनाउँदै गरेको मदन–आश्रित स्मृति पूर्वाधार निर्माणको ठेक्का पाएका ठेकेदार सापकोटालाई मन्त्रालयले ताकेता गर्दा पनि सम्पर्कमा आएका छैनन् । मदन–आश्रित स्मृति प्रतिष्ठानको सहकार्यमा दासढुंगा मदन–आश्रीत स्मृति पूर्वाधार निर्माणको जिम्मा पाएका ठेकेदार सापकोटा काम अलपत्र छाडेर भागेको पर्यटन मन्त्रालयले जनाएको छ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले उक्त मदन–आश्रीत स्मृति पूर्वाधार निर्माण काम समयमै सम्पन्न गर्न ताकेता गरेपछि ठेकेदार सापकोटा काम छाडेर भागेको पाइएको हो । ३९ लाखमा मदन–आश्रित स्मृति स्मृति पूर्वाधार बनाउने ठेक्का पाएका निर्माण व्यवसायी फरार भएपछि पर्यटनमन्त्री श्रेष्ठले उक्त ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर भएपनि काम समयमै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

पर्यटन आयोजनका प्रमुख विष्णु भण्डारीका अनुसार मदन–आश्रित स्मृति पूर्वाधार निर्माणको ठेक्का एसएसपी कन्स्ट्रक्सनले पाएको हो । उक्त ठेकेदार कम्पनी सम्पर्कमा नआएपछि ठेक्का रद्ध गरेर कालोसूचीमा राखी अर्को निर्माण कम्पनीमार्फत समयमै काम सम्पन्न गर्ने कसरतमा रहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए ।

निलकण्ठ – ३, धादिङ ठेगाना रहेको एसएसपी कन्स्ट्रक्सनका मालिक फौदनाथ सापकोटा सापकोटालाई पर्यटन मन्त्रालयले खोजी गर्दा उनी सम्पर्कबिहीन भएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot