Logo

‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता



काठमाडौं, चैत २८ । नेपालमा लामो समयदेखि अल्पमतमा परेको नेतृत्वले सरकार चलाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा जसले धेरै मत ल्याउँछ उही विजयी हुने प्रणालीका कारण बहुमत जनता विपक्षमा हुँदाहुँदै अल्पमतमा परेका नेताहरूबाटै शासन सत्ता सञ्चालन हुँदै आएका छन् ।

प्रत्यक्ष निर्वाचन प्रणालीको मुख्य समस्या भनेको प्राविधिक बहुमतका आधारमा अल्पमतले शासन गर्नु हो । यो व्यवस्था सुधार्न प्रत्यक्ष निर्वाचन प्रणालीमा कम्तीमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनेले मात्रै विजयी हुने प्रणाली नभएसम्म अल्पमतमा परेकाले नै शासन सत्ता सञ्चालन गरिरहने अवस्था देखिएको छ ।

२०७४ सालको निर्वाचनमा ४० प्रतिशत मत ल्याउने शेरबहादुर देउवा हाल प्रधानमन्त्री छन् । उनले पाएको मत हेर्दा उनी प्राविधिक मतले मात्रै विजयी भएका हुन् । डडेल्धुराका ६० प्रतिशत जनता विपक्षीमा रहे पनि देउवा अहिले मुलुकको शासन सत्ता सम्हालिरहेका छन् । उनले एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट २८ हजार ४४ मत प्राप्त गरेका थिए । वामगठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरेका माओवादीका नेता खगराज भट्टले २१ हजार १ सय १५ मत प्राप्त गरेका थिए ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा ५७ प्रतिशतभन्दा बढी मत ल्याएर एमाले अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर ५ बाट बहुमतप्राप्त जनताको मत पाएका थिए । एमाले अध्यक्ष ओली ५७ प्रतिशत जनताको मत प्राप्त गरेर पनि अहिले प्रमुख प्रतिपक्षको हैसियतमा छन् ।

विगत १५ वर्षअघिको दृष्टान्त हेर्दा अपवादबाहेक प्रत्यक्ष निर्वाचन प्रणालीमा प्राविधिक बहुमतका आधारमा अल्पमत ल्याउनेले जनतामाथि शासन गर्दै आइरहेका छन् । २०४८ सालमा नेपाली कांग्रेसले बहुमतको सरकार बनायो तर उसको प्राविधिक रूपमा बहुमत मात्रै थियो ।

त्यतिबेला कांग्रेसको मत ३७.७५ प्रतिशत मात्रै थियो । ६३ प्रतिशत जनता कांग्रेसको विपक्षमा थिए । तर, पनि सरकारको नेतृत्व अल्पमत ल्याउने दल कांग्रेसले ग¥यो । २०५६ को चुनावपछि फेरि कांग्रेसले बहुमतको सरकार चलाए पनि उसको मत भने ३६ प्रतिशत मात्रै थियो । ६३.८६ प्रतिशतमा रहेको बहुमत विपक्षमा बस्न बाध्य भएको थियो । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्