काठमाडौं, चैत २८ । जानकी ग्लोबल फाउण्डेशन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा राजधानीमा जारी ‘नेपाल लगानी सम्मेलन–२०२२’ को आयोजना गरिएको छ । भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबारदेखि सुरु भएको सम्मेलन आज समापन हुँदैछ ।
सम्मेलनको उदघाटन सत्रमा बोल्दै वरिष्ठ पत्रकार ऋषि धमालले नेपालको राष्ट्रिय शक्ति आर्थिक विकासमा उच्च आर्थिक वृद्धिका लागि स्वदेशी पुँजीले मात्रै नपुग्ने जनाउँदै विदेशको सार्वजनिक र निजी लगानी नेपाल भित्र्याउँदा लगानीको प्रत्याभूति हुन आवश्यक रहेको बताए ।
हालै सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले समेत नेपालको उर्जा क्षेत्रबारे विशेष जोड दिएको जनाँउै उनले नेपालको ऊर्जा, पर्यटन, पूर्वाधार, कृषि स्वास्थ्य, शिक्षा तथा खेलकुदका पूर्वाधारमा लगायतका क्षेत्रमा लगानीको अधिक सम्भावना रहेकाले विदेशी लगानी कर्तालाई आर्कर्षित गर्न सकिने बताए ।
नेपाल लगानीको प्रतिफलका लागि विश्वकै उत्कृष्ट गन्तव्य रहेको पत्रकार धमलाको भनाई छ । विकासका लागि सार्वजनिक क्षेत्रको लगानी मात्रै पर्याप्त नरहेकाले निजी लगानीलाई पनि प्रोत्साहन गर्नुपर्नेमा उनले बताए ।
त्यस्तै, आयोजक जानकी ग्लोबल फाउण्डेशनकी फाउण्डर जानकी गुरुङले सम्मेलनमार्फत नेपालमा लगानीको चेतना अभिवृद्धि र वित्तीय साक्षरता अभिवृद्धि गर्न सहयोग पुग्ने दाबी गरिन। सफल नेपाली लगानीकर्ताका अनुभव र विचारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उनको भनाई छ ।
‘सम्मेलन मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीमा उत्कृष्ट अवसरहरू खोजेर नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने बताउँदै उनले नेपालको नाफामुखी क्षेत्रको बारेमा जान्न र अवसरहरू समात्न उत्प्रेरित गर्नेमा जोड दिईन्
त्यस्तै, सम्मेलनलाई सम्बोधन गर्दै नेपाल रिपब्लिक मिडिया प्रालिका निर्देशक शोभा ज्ञवालीले व्यापार घाटाका कारण अर्थतन्त्रमा गम्भीर संकट परेको समयमा निर्यातको तुलनामा आयात १२ गुणा रहेको जनाइन्।
अहिले स्वदेशी तथा विदेशी लगानीका लागि अनुकुल वातावरण बनेको जनाउँदै ज्ञवालीले औद्योगिकीकरण, निर्यात वृद्धि र आयात प्रतिस्थापनका लागि विदेशी लगानी र प्रविधिको खाँचो रहेको बताइन्।
अहिले मुलुकलाई युवा जनसंख्याको उपस्थिति विकासका निम्ति कामलाग्दो रहेको जनाउँदै उनले १६ देखि ४० वर्ष उमेर समूह अहिले पनि कुल जनसंख्याको ४० प्रतिशत भन्दा बढी रहेका वेला उद्यमशीलता जरुरी देखिएको उनले बताइन्।
त्यस्तै, हाइड्रो सोलुशनका अध्यक्ष तथा ऊर्जाविद् ज्ञानेन्द्रलाल प्रधानले नेपालमा साक्षरता बढ्दै गएको र गरिबी घट्दै गएको अवस्थामा कृषिमा आधारित अर्थतन्त्रलाई अघि बढाउँदै दिगो र भरपर्दो लगानीलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।
बिजुलीको उत्पादनबाट आयात प्रतिस्थापन गर्न सकिने जनाउँदै उनले ऊर्जा उत्पादनबाट आर्थिक समृद्धि हासिल गर्न सकिनेमा उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै इजराइलका लागि पूर्व राजदूत अन्जली शाक्यले बाह्य देशसँगको परम्परागत सम्बन्धमा सुधार ल्याउँदै आर्थिक र आधुनिक सम्बन्धमा जोड दिनुपर्ने बताइन्। कूटनीतिको माध्यमबाट लगानी भित्र्याउन सकिने जनाउँदै उनले व्यापार घाटा कम गर्न नेपालमा सम्भावनाका अवसरलाई कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिइन्।
त्यस्तै, सानिमा बैंकका पूर्व सिईओ भुवन दाहालले वाणिज्य बैंकहरूमा सुधारको खाँचो रहेको औंल्याए। हाल नेपालमा सञ्चालनमा रहेका बैंकबाट ८० प्रतिशत कर्जा प्रयोगमा रहेको जनाउँदै उनले ग्राहकलाई देउताको रूपमा लिएर उद्यमी बन्न चाहने स्टार्टअपलाई सहयोग गर्नुपर्नेमा जोड दिए।