Logo

‘ठाउँ र अवस्थाअनुसार तालमेल गर्नू’



काठमाडौं, चैत २९ । पाँचदलीय सत्ता गठबन्धनले देशका ६ महानगरमा केन्द्रीय तहबाटै भागबन्डामार्फत उम्मेदवार तोक्ने तयारी गर्दै अन्य स्थानीय तहका पार्टीका संयन्त्रलाई ठाउँ र अवस्थाअनुसार तालमेल गर्न संयुक्त आह्वान गरेका छन् ।

सोमबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा देशका ६ महानगरमा केन्द्रीय तहबाट नै उम्मेदवार तय गर्ने सहमति भएको हो । बाँकी ६ हजार ७ सय ४७ तहमा भने तालमेल निर्णय गर्न प्रदेश, जिल्ला र स्थानीय तहलाई अधिकार दिने र तहगत रूपमा संयुक्त संयन्त्र बनाउने सहमति शीर्ष तहमा भएको छ ।

पाँच दलीय गठबन्धनले तालमेलको मोडालिटी तय गर्न भन्दै बनाएको चुनावी तयारी तथा अनुगमन समितिका संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगरपालिकाको उम्मेदवार केन्द्रबाटै तय हुने र बाँकी स्थानीय तहमा तहगत रूपमा संयुक्त संयन्त्रमार्फत निर्णय हुने जानकारी दिए ।

उनले कुन तहमा कसरी कोसँग तालमेल गर्ने भन्ने विषयमा मोडालिटी बनाइने र सोही मोडालिटीअनुसार तल्लो तहसम्म नै संयुक्त संयन्त्रले उम्मेदवार छान्ने बताए ।

‘प्रदेश, जिल्ला र स्थानीय तहमा उम्मेदवार तय गर्न संयुक्त संयन्त्र बनाउने तयारी भइरहेको छ, कहाँ कसरी तालमेल गर्ने भनेर मोडालिटी पनि बनाउँदै छौं, केन्द्रीय तहबाट महानगरको उम्मेदवार तय हुन्छ, अन्य तहमा तल बन्ने संयन्त्रबाटै निर्णय हुन्छ,’ पाँचदलीय चुनावी समितिका संयोजक पौडेलले भने ।

स्रोतका अनुसार नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा नेतृत्व लिने गरी गठबन्धनको उच्च तहमा सहमति भएको छ । यस्तै, भरतपुर महानगर माओवादी केन्द्र, पोखरा महानगर नेकपा एकीकृत समाजवादी र वीरगन्ज महानगर जसपालाई दिने गरी गठबन्धनका उच्च तहका नेताबीच सहमति भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्