काठमाडौं, चैत २९ । पासाङल्हामु राजमार्गका स्थानीयवासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य पुनः सुरु भएको छ ।
पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम सुरु गरेसँगै अवरोध हटेपछि फोहर व्यवस्थापनमा सहज कार्य सुरु भएको हो । अहिले फोहर व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ । राति १० बजेदेखि बिहान आठ बजेसम्म मात्र फोहरको गाडी सिसडोल जान पाउने छ ।
हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण यही चैत १८ गतेदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहका फोहर व्यवस्थापन हुन सकेको थिएन ।
दश दिनदेखि फोहर विसर्जन हुन नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिएको छ । अठार स्थानीय तहको फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको कामपा वातावरण विभाग प्रमुख सरिता राईको भनाइ छ ।
उनका अनुसार २०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटकपटक स्थानीयवासीले आन्दोलन गरेकाले फोहर विसर्जनमा अवरोध हुँदै आएको छ ।