Logo

काठमाडौंको महानगरमा विवेकशील साझाको दाबीः बास्कोटा मेयर, तुलाधर उपमेयर



काठमाडौं, चैत २९ । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ।

“देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ राजधानीको गौरव पुनर्स्थापित गरौँ” नाराका साथ दुईजना महिला उमेदवारलाई अघि सारिएको छ । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले गरेको निर्णय अनुसार बास्कोटा र कीर्ति उमेदवार बन्ने पक्का भएका छन् ।

समिक्षा बास्कोटा विवेकशील साझा पार्टी, वागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन्। ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गरेकी छिन्। उनी गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार समेत बनेकी थिइन्। २७ प्रतिशत मत ल्याएर उनले तेस्रो स्थान हासिल गरेकी थिइन्।

कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुन्। उनी नेपाल जेसीजको आजसम्मका तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक हुन्। उनी अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एशियाबाटै पहिलो महिला उपाध्यक्ष हुन्। शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघ-संगठनको नेतृत्वदायी भूमिकामा छिन्।

दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछन्। यस पटकको निर्वाचनमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवाप्रवाह, सुलभ, व्यवस्थित, विद्युतीय यातायात, नेवाः कला-संस्कृतिको सम्वर्द्धन र पुनर्जागरण, खुला क्षेत्रको संरक्षण र विस्तार, नदी(नालाको सफाई र पुनर्स्थापना, सफा र व्यवस्थित काठमाडौँ, र गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासहितका घोषणापत्र लिएर उमेदवारहरु निर्वाचनमा जान लागेको पार्टीद्वारा सार्वजनिक विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot