काठमाडौं, चैत ३०। कृषिप्रधान भनेर चिनिँदै आएको नेपालले वर्षेनि साढे २ अर्ब रुपैयाँभन्दा बढीको बीउ आयात गरिरहेको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा धान, मकै र विभिन्न जातका तरकारीका २ अर्ब ६७ करोड ३१ लाख रुपैयाँको बीउ आयात भएको बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले बताएको छ । चालू आवको माघसम्म १ अर्ब १५ करोड ८५ लाख रुपैयाँ बराबरको २३ लाख ६७ हजार किलो बीउ आयात भइसकेको छ ।
सरकारी तथ्यांकअनुसार नेपालका ६५ दशमलव ६ प्रतिशत जनता कृषिमा आबद्ध छन् । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान करीब २५ प्रतिशत छ । देशको अर्थतन्त्रमा यति ठूलो अंश ओगटेको कृषिकर्मका लागि आवश्यक पर्ने मुख्य वस्तु मल र बीउ दुवै हालसम्म आयातकै भरमा चलिरहेको छ । देशभित्रै सरकारी तथा निजीस्तरबाट सञ्चालित बीउ उत्पादन कम्पनी हुँदाहुँदै विदेशबाट बीउ आयात बढ्नुको मुख्य कारण अधिकांश वर्णसंकर (हाइब्रिड) बीउको उत्पादन नेपालमा नहुनु रहेको विज्ञ बताउँछन् ।
केन्द्र प्रमुख बेनुप्रसाद प्रसाईले पछिल्लो समय थोरै जमीनमा धेरै उत्पादन हुने वर्णसंकर जातका बीउ माग बढेकाले रैथाने हराउँदै गएको र आयातको ग्राफ उकालो लागेको बताए । उनका अनुसार नेपालमा वार्षिक ४५ हजार मेट्रिक टन वर्णसंकर जात धानको बीउ आवश्यक पर्छ । तर, त्यसका करीब ९१ प्रतिशत आयात गर्नुपर्ने अवस्था छ । वर्णसंकर मकैको बीउ शतप्रतिशत आयात गर्नुपर्छ ।
केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार १ वर्षमा १ अर्ब ६१ करोड ४२ लाख रुपैयाँभन्दा बढीको ४१ लाख ६८ हजार ९ सय ५२ किलो धानको वर्णसंकर जातको बीउ आयात भएको छ । ५१ करोड ६८ लाख रुपैयाँभन्दा बढीको २१ लाख ८५ हजार ६ सय ९६ किलो मकै बीउ आयात भएको छ ।
त्यसैगरी, ५४ करोड ८१ लाख रुपैयाँभन्दा बढीको १ लाख ४४ हजार ४ सय ८९ किलो काउली, बन्दा, ब्रोकाउली, काँक्रो, गाँजर, मुला, भिन्डी, गोलभेडा, धनियाँ, भन्टा, तितेकरेला, लौका, फर्सीलगायत ३४ किसिमका तरकारीको वर्णसंकर जातको बीउ आयात भएको छ । विदेशबाट आयात हुनेमध्ये सबभन्दा धेरै १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको ५३ हजार ४ सय २० किलो वर्णसंकर धनियाँको बीउ आयात भएको तथ्यांक छ । आर्थिक अभियान दैनिकबाट