Logo

जसपा नेता यादवको असहमति, “गाउँपालिका र नगरपालिकामा माथिबाट भागबन्डा लाद्नु प्रत्युत्पादक हुन्छ”



काठमाडौं, ३० चैत । कृषि मन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का नेता महिन्द्र राय यादवले महानगर र उपमहानगरपालिका बाहेक अरुमा केन्द्रबाट गठबन्धन गर्न नमिल्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले भने, “हामी गाउँपालिका र नगरपालिकामा गठबन्धन लाद्ने पक्षमा छैनौं । त्यसमा माथिबाट मिलाएर हुँदैन, स्थानीय तहमै मिलाउनुपर्छ । महानगर र उपमहानगरपालिकाबाहेक अरुमा माथिबाट लाद्दा गठबन्धन प्रत्युत्पादक हुन्छ । महानगर र उपमहानगरपालिकाबाहेक तल जानै हुँदैन । त्यसले गठबन्धनको मर्म, भावना र उद्देश्य पूरा हुँदैन ।”
स्थानीय तहमा गठबन्धन गर्दा संगठन र जनमतका आधारमा तय गर्नुपर्ने उनले बताए । यादवले थपे, “मैले सुनेको छु, पुरानो हिसाबले गठबन्धन गर्ने । पुरानो संगठनमा धेरै उतारचढाव छ । हाम्रै पार्टीमा भन्ने हो भने थुप्रै साना साना पार्टी मिसिएका छन् । त्यसैले वर्तमान अवस्थाका आधारमा गठबन्धन गर्नुपर्छ । हामीले वीरगन्जमा गठबन्धन नगरीकन जितेका हौं, विराटनगरमा हामीले थोरै मतले हारेका हौं । त्यसैले पुरानो जितेको आधार मात्र पर्याप्त हुँदैन ।”



प्रतिक्रिया दिनुहोस्