Logo

दुधौली नगरपालिकाको मेयरमा निरौलाको दाबी



काठमाडौं, ३० चैत । सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा निरौलाले दाबी गरेकी छन् । राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्य समेत रहेकी निरौला दुधौलीको मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

आउँदो ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचन प्रमुखमा महिलाको सहभागिता कम रहेको चर्चा चलिरहेको समयमा निरौलाले मेयरमा उम्मेदवारी दिने तयारी गरेकी हुन् ।

गत मंसिरमा पार्टीको सम्पन्न १४औँ महाधिवेशनको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत रहेकी उनले आफू स्थानीय तहमै रहेर जनताको सेवा गर्ने उद्देश्यले मेयरमा उम्मेदवारी दिने तयारी गरेको उनले बताइन् ।

राष्ट्रिय भूमि आयोग सिन्धुलीको जिल्ला समिति सदस्यको जिम्मेवारी पाएलगत्तै उनी भूमिहीन र सुकुम्बासीलाई जग्गाधनी लालपुर्जा वितरणमा जुटेकी छन् । दुधौली–९ बाट अभियान सुरु गरेर सो क्षेत्रका १०६ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको नेतृ निरौलाले बताइन् । दुधौलीलाई स्मार्टसिटीको रूपमा विकास गर्ने लक्ष्य लिएको उनले बताइन् ।

सिन्धुली जिल्लामा सत्तारुढ गठबन्धनले अहिलेसम्म के गर्ने भन्ने निर्णय नभएकाले सबै दलले आ–आफ्ना उम्मेदवार उठाउने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्