Logo

‘नागरिक उन्मुक्ति पार्टी’ मा विभिन्न दलका कार्यकर्ताको प्रवेश



काठमाडौं, २९ चैत्र । स्थानीय चुनाव नजिकिदै गर्दा रेशम चौधरीले नेतृत्व गरेको पार्टी ‘नागरिक उन्मुक्ति पार्टी’मा विभिन्न दल परित्याग गरी प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ३० जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता योगेन्द्र घिसिङले नागरिक उन्मुक्ति पार्टीको आन्दोलन र उद्देश्य सफल बनाउनको निम्ति विभिन्न नेताहरु आफ्नो पार्टीमा प्रवेश गर्न लागेको बताए । नेपालमा राजनीतिक दलको संख्या उल्लेख्य भएको भन्दै अन्य पार्टीका बीच आफ्नो पार्टी फरक पहिचानसहित स्थापना भएको स्पष्ट पारे ।

सांसद रेशम चौधरी नेपालको राजनीतिको पुर्वाग्रही ढंगका कारण कारागारमा बस्न परेको बताए । उनले चौधरीको स–सम्मान रिहा हुनुपर्नेमा जोड दिए । जनताबाट निर्वाचित प्रतिनिधि जेलमा बस्न आवश्यक नरहेको पनि उनले दाबी गरे । घिसिङले चौधरी हत्याकाण्डको योजनाकार नभएको भन्दै खण्डन समेत गरेका थिए ।

उनले भने,‘राजनीतिक घटनाको कारण घटनामा सम्लग्न नभएका व्यक्ति चौधरीलाई आज बन्दी बनाएर राखिएको छ । नेताहरुलाई मन नपर्दा बित्तिकै थुनामा राख्न मिल्छ ?’ आफ्नो पार्टी गरिबको उन्मुक्तिको लागि स्थापना भएको उनले सुनाए । आर्थिक समृद्धिको निम्ती समाजवाद आवश्यक रहेको उनको भनाई थियो । नेपालमा कृषि क्रान्ति गर्ने हो भने युवाहरु विदेशी जानबाट रोकिने उनले धारणा राखे । निशुल्क स्वास्थ्य, शिक्षामा कुनै पनि पार्टीले एजेण्डा नबनाएको उल्लेख गर्दै घिसिङले देश बनाउन नागरिक उन्मुक्ति पार्टी जस्तो सुकै काम गर्न पनि तयार रहेको स्पष्ट पारे ।

देशको अर्थतन्त्र बिगार्न खोज्ने र राष्ट्रको अर्थतन्त्रमा संकट ल्याउने कारण खोज्न पर्ने समय आएको भन्दै उनले राज्यको ढुकुटी बढाउन पर्नेमा सबैले ध्यान दिन पर्ने बताए । सुदुरपश्चिममा आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर बढेको जिकिर गर्दै उनले भने, ‘आज एमाले, कांग्रेस, माओवादीबाट हाम्रो पार्टी प्रवेश गर्ने जनलहर चलेको छ ।’

केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी प्रवेश गरेका सबैलाई स्वागत गर्दै बधाई दिएकी थिइन् । उनले सबैलाई मानिसहरुलाई सामाजिक न्यायको आवश्यकता रहेको औल्याइन् । उनले भनिन्,‘कसैलाई रात नबित्दै न्याय र कसैलाई ७ वर्ष बित्दा समेत अन्याय’यो कस्तो शासन हो ।’ मानिस जस्तोसुकै अवस्थामा भएपनि विचार कहिल्यै नमर्ने उनको भनाई थियो ।

नवप्रवेशी इन्जिनियर महेन्द्र उपाध्यायले नेपालमा धेरै पार्टी रहे पनि विभिन्न काण्डमा मुछिएकाले आफुले निष्पक्ष पार्टी नागरिक उन्मुक्ति रोजेको सुनाए । आफ्नो पेशा इन्जिनियर भएको भन्दै उनले आफ्नो काम र उद्देश्य विकास गर्ने रहेको बताए । देशको विकासको लागि पार्टी प्रवेश गरेको समेत उनले जिकिर गरे । सांसद रेशम चौधरी निर्दोष भएको उनको भनाई थियो । चौधरीको बारेमा थारु समुदाय र जनतालाई केही थाहा नभएको पनि उनले बताए । आगामी चुनावमा पार्टीलाई नयाँ मोडलसहित अगाडी बढाउने योजना आफुले तयार गरिरहेको पनि उनले जानकारी दिए ।

त्यस्तै, नवप्रवेशी चन्द्रबहादुर स्याङतेनले आफु मजदुरको हकहितको लागि काम गर्दै आएको बताए । उनले आफु कामको शिलसिलामा धेरै स्थानमा पुगेपनि मजदुरको समस्या कम नभएको उल्लेख गरे । नेकपा एमाले निकट जिफन्टमा लामो समयदेखि सम्बन्धित रहेर काम गरेपनि जिफन्ट पार्टी केन्द्रीत मात्रै भएको बताए ।

आज पार्टीमा महेन्द्र उपाध्याय, चन्द्रबहादुर स्याङतेन, दिनेश चौधरी, प्रवेश घिसिङ, लक्षीराम चौधरी, विवेक यादव, दयाराम चौधरी, राम चौधरी, रमण चौधरीलगायत थुपैको संख्यामा प्रवेश गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot