Logo

कांग्रेसले प्रदेशमा उम्मेदवार छान्न सहमहामन्त्री खटाउने



काठमाडौं, बैशाख १ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्न सातै प्रदेशमा सहमहामन्त्री खटाउने निर्णय गरेको छ । कांग्रेसको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने नेताको नाम तय गर्न सातै प्रदेशमा सहमहामन्त्रीलाई खटाउने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशसरण महतले प्रदेशभित्र पर्ने नगरपालिका र गाउँपालिकाका स्थानीय तहको उम्मेदवार तय गर्न सहमहामन्त्री खटाइने निर्णय भएको जानकारी दिएका हुन् । सहमहामन्त्रीहरू ३ वैशाखमा सातै प्रदेशमा खटिनेछन् ।

उनीहरूले प्रदेशभित्रका स्थानीय तहका लागि उम्मेदवारहरूको नाम ९ वैशाखसम्ममा केन्द्रमा पठाउनेछन् भने १० वैशाखमा केन्द्रले देशभरका स्थानीय तहमा उठ्ने उम्मेदवारको नाम तय गर्नेछ । प्रवक्ता महतका महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार भने पार्टी केन्द्रीय समितिले नै तय गर्नेछ ।

बैठकले स्थानीय तहमा उठ्न इच्छुकको नाम समानुपातिक सूचीबाट हटाउनेसमेत निर्णय गरेको छ । समानुपातिकतर्फको बन्द सूचीमा नाम रहेका नेताहरूले स्थानीय तहमा उठ्न चाहेका कारण कांग्रेसले समानुपातिक सूचीमा यसअघि निर्वाचन आयोगमा बुझाइएको नाम फिर्ता लिने निर्णय गरेको हो । तर, कति जनाको नाम फिर्ता लिने र कोको स्थानीय तहमा उठ्ने भन्ने तय भइसकेको छैन ।

बन्द सूचीबाट नाम नहटाएसम्म स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नपाइने कानुनी व्यवस्था छ । समानुपातिकमा नाम रहेकाहरू स्थानीय तहमा उठ्न चाहेमा पार्टीले आयोगमा पत्र पठाई नाम फिर्ता लिनुपर्नेछ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्