Logo

“कांग्रेसको घोषणापत्रमा के के गर्छौं भन्ने कार्यक्रम मात्र होइन, के के गर्दैनौं भन्ने प्रतिबद्धता पनि आउँछ”



काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी स्थानीय तहको सुझाव अनुसार पार्टीको घोषणापत्र आउन लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शिवाकोटीले भने, “स्थानीय तहबाट आएका सुझावका आधारमा तयार भएको घोषणापत्रको पहिलो मस्यौदामाथि केन्द्रीय कार्यसम्पादन समितिमा छलफल भएको छ । वैशाख २ सम्म लिखित सुझाव आएपछि चाँडै अन्तिम रुप दिन्छौं ।”
यसपटक कांग्रेसको घोषणापत्रमा के के गर्छौं भन्ने कार्यक्रम मात्र होइन, के के गर्दैनौं भन्ने प्रतिबद्धता पनि आउने उनले औंल्याए । घोषणापत्र तयारी समितिका सदस्य समेत रहेका शिवाकोटीले भने, “पार्टीका नारा, वाचा र संकल्पका कुरा त समेटिन्छन् नै । अनिवार्य स्वास्थ्य बिमा, ज्येष्ठ नागरिकलाई घरघरमा सेवा दिने, स्वरोजगार सिर्जना गर्ने कुरा पनि रहन्छन् । साथै सचिवालयमा आफन्त र नातागोतालाई राख्दैनौं, सल्लाहकार राख्दैनौं । आसपासेलाई मात्र कृषि अनुदानका नाममा चरम भ्रष्टाचार र लुटतन्त्र हुन दिँदैनौं भनेर घोषणापत्रमै लेख्छौं ।”
उनले विकासका नाममा स्वागतद्वार र भ्यूटारको विकृत रुप अन्त्य गरिने पनि बताए । उनले थपे, “प्राकृतिक रुपमै अग्ला डाँडा भभएकै ठाउँमा भ्यू टावर निर्माण फजुल खर्च हो । यसले आर्थिक समृद्धिमा योगदान दिँदैन, बरु दुर्व्यसनीका अड्डा बन्न पुगेको अवस्था छ । यसमा गरिने खर्च स्वास्थ्य र शिक्षामा लगानी गर्न सकिन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot